दश महिनामा ३७ अर्बको मोबाइल फोन आयात 

काठमाडौं, १० जेठ । 

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले करिव ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ । 

अघिल्लो एक वर्षमा नेपाल भित्रिएकोभन्दा बढी रकमको मोबाइल फोन चालु आर्थिक वर्षको पहिलो १० महिनामै भित्रिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट नेपालले ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको थियो । विभागका अनुसार पछिल्लो दश महिनामा नेपालमा ५३ लाख ६५ हजार ११५ थान मोबाइल भित्रिएका छन् । 

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत र भियतनामबाट आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो दश महिनामा चीनबाट २२ अर्ब १९ लाख ६० हजार रुपैयाँ, भारतबाट १२ अर्ब ५२ करोड २१ लाख ६७ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ६१ करोड ४६ लाख ९५ हजार रुपैयाँ, युनाईटड अरब इमिरेट्सबाट २७ करोड २८ लाख ७७ हजार रुपैयाँ र अमेरिकाबाट १४ करोड २५ लाख ७४ हजार रपैयाँको मोबाइल नेपाल भित्रिएको छ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्