काठमाडौँ– कोरोना भाइरस विरुद्धको खोप अभियान जारी रहँदा अझै शिक्षक खोप लगाउने सूचीको प्राथमिकतामा परेका छैनन् ।
शिक्षकलाई कहिले खोप लगाउने भन्ने विषयमा कुनै निर्णय नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीर घिमिरेले बताए ।उनले भने, ‘यसबारे मन्त्रालयले अहिले नै कुनै निर्णय गरेको छैन् । निर्णय गर्याे भने भनौंला ।’
पहिलो चरणमा स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मी, पत्रकार लगायतलले खोप लगाएका छन् ।
पहिलो चरणमा खोप लगाउन छुटेकाहरुलाई स्वास्थ्य मन्त्रालयले खोप लगाउन आउन सूचना नै जारी गरेको छ ।लाखौँ विद्यार्थीसँग प्रत्यक्ष जोडिने शिक्षकहरुलाई प्राथमिकतामा राखेर खोप लगाउनुपर्ने भन्दै विभिन्न शैक्षिक सरोकारवाला संघ संस्थाहरुले पनि बताउँदै आएका छन् ।
स्वास्थ्य मन्त्रालयले अब फागुन २ गतेबाट ८ गतेसम्म खोप लगाउनेको सूचीमा सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मीहरु र स्वास्थ्य स्वयंसेवक लगायतलाई प्राथमिकतामा राखेको छ ।
गत माघ २७ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना विरुद्धको खोप अभियानमा शिक्षकहरुलाई प्राथमिकतामा राख्न अनुरोध गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखे पनि सुनुवाई भएको छैन ।