धादिङ,०४ कात्तिक ।
धादिङका थप ५० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २४ पुरुष र २६ महिला गरी ५० जना संक्रमण पुष्टि भएको हो । योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ५९४ पुगेको छ ।
स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ८७७ जना पुरुष र ७१७ महिला गरी कुल एक हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ९५८ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
यस्तै धुनिबेशीमा ७३, गल्छीमा ६८, ज्वालामुखीमा ६५, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३८, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा ९, गंगाजमुनामा २७ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।