बुटवल– कपिलवस्तुको कृष्णनगर नगरपालिकको तीन वटा वडामा हैजा फैलिएको पुष्टि भएको छ। गत असोज १८ देखि कृष्णगनरको ७, ८ र ९ नम्बर वडामा झाडापखाला फैलिएपछि गरिएको दिसाको नमुना परीक्षणमा हैजाको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ।
विश्व स्वास्थ्य संगठनको समन्वयमा २१ जना बिरामीको दिशा संकलन गरी परीक्षण गर्दा सो तथ्य फेला परेको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चार जनामा हैजाको जीवाणु फेला परेको उनले बताए।२१ नमुनामध्ये ५५ वर्षीय दुई पुरुष, ७२ वर्षीय एक पुरुष तथा पाँच वर्षीय बालिकामा हैजाको जीवाणु भेटिएको कार्यालयले जनाएको छ।झाडापखालाबाट हालसम्म चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीय पुरुष, ७ वर्षीय र २ वर्षीय बालक तथा पाँच वर्षीय बालिका छन्। यस्तै अहिलेसम्म ८८५ जना संक्रमित भएका छन्।