जिल्लास्तरिय टि–२० क्रिकेटको उपाधीको लागि भोली गजुरी र त्रिपुरासुन्दरी भिड्दै

धादिङको बेनीघाट रोराङको विशालटारमा जारी जिल्ला स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको फाईनलमा भोली गजुरी सामुदायीक समाज र त्रिपुरासुन्दरी क्रिकेट क्लव भिड्ने भएका छन् । आज भएको सेमीफाईनलमा गजुरीले बेनीघाट रोराङको चरौदीलाई हराउँदै फाईनल यात्रा तय गरेको हो भने त्रिपुरासुन्दरीले धुनीबेसीको संवाहक युवा क्लवलाई हराउँदै फाईनल प्रवेश गरेको हो ।

पहिलो सेमीफाइनलमा गजुरी सामुदायिक विकास समाजले चरौदी समाज सुधार युवा क्लब माथि ११९ रनको जित निकालेको थियो । टस जितेर ब्याटिङका लागि आएको  गजुरीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९९ रन जोडेको थियो । गजुरीका उज्वल थापाले शतक प्रहार गरे । ४० बल खेलेका थापाले ८ चौका र ९ छक्का प्रहार गरेका थिए । साथै सानु घलेले ३३ तथा सविनले २३ रन जोडे । चरौदीका एनजल सिलवालले ४ ओभरमा ४१ रन दिँदै २ विकेट लिए । जवाफी ब्याटिङ गर्न आएको चरौदी ८० रनमा समेटियो । चरौदीका चन्द्रेश ठाकुरले ३२ रन जोडे । विजय सिलवालले भने १० बलमा १४ रन जोडे । 

गजुरीका निरोज रिजालले ४ ओभरमा १५ रन दिँदै ४ विकेट लिए । यस्तै सन्देश सापकोटा र प्रदीप गिरीले सम्मान २÷२ विकेट लिए । निरन्तर उत्कृष्ट प्रदर्शन गरेका उज्वल प्रतियोगिताकै सर्वाधिक रनकर्ता तथा विकेटकर्ताको शिर्ष स्थानमा  छन्।खेलको म्यान अफ द म्याच उज्वल थापा भए।

आजै सम्पन्न दोस्रो सेमीफाईनल खेलमा त्रिपुरासुन्दरीले सम्बाहक युवा क्लब माथि ६८ रनको जित निकालेको छ। टस जितेर ब्याटिङका लागि आएको त्रिपुरासुन्दरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । त्रिपुरासुन्दरीका कप्तान अमृत थापाले ८५ रन जोडे । ४४ बल खेल्दै थापाले १२ चौका र ३ छक्का प्रहार गरेका थिए । साथै निशान खड्काले २४ तथा आरम्भ तिमल्सिनाले २७ रन जोडे ।सम्बाहकका राज कुमार , सुदिप पाठक, अमृत थापा र नवराजले सम्मान १÷१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गर्न आएको सम्बाहक १०६ रनमा समेटियो सम्बाहकका सुदिप पाठकले १४ रन जोडे । त्रिपुरासुन्दरीका श्री कृष्णले ३ विकेट हात पारे । यस्तै अनिल अधिकारी र उदय थापाले सम्मान २÷२ विकेट हात पारे। खेलको म्यान अफ द म्याच कप्तान अमृत थापा भए ।

अब त्रिपुरासुन्दरी क्रिकेट टिम र गजुरी सामुदायिक विकास समाज बिच भोलि ९ बजे फाइनलमा खेल हुने आयोजकले जनाएको छ ।
भोली हुने फाईनलको विजेताले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद ५० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने जिल्ला क्रिकेट संघ धादिङका अध्यक्ष दिपेश कडेलले बताउनुभयो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्