खेलाडी-क्यान विवादमा सहमति जुटाउने प्रयास

काठमाडौं, ८ मंसिर 

पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच देखिएको विवादdf सहमति जुटाउने प्रयास थालिएको छ । 

क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक) बाट बाहिर राख्ने र कप्तान, उपकप्तानलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । २९ मंसिरमा बसेको बोर्ड बैठकले सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गरेको थियो । 

तर पछिल्लो समय राजनीतिक चासो र चौतर्फी दबाबपछि खेलाडी र क्यान दुबैले सहमति जुटाउने प्रयास गरेका हुन् । केही समूहले क्यानको चर्काे विरोध गरेका छन् भने केही समूहले खेलाडीले क्यानको कारबाही स्वीकार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।  

चार खेलाडीले मंगलबार क्यान केन्द्रीय समस्य दुर्गानाथ पाठकसँग भेट गरेका थिए । पाठकले क्यानको तर्फबाट वार्ता गरेका थिए भने खेलाडीले पछिल्लो कारवाही स्थगित गर्नुपर्ने अडान लिएका थिए । 

‘पत्रकार सम्मेलन गरेर केही कुरा राखेपछि अभिभावकको नाताले हाम्रो केन्द्रीय सदस्य दुर्गाराज पाठकजीलाई खेलाडीसँग गएर वार्ता गर्नुस् भनेर पठाएका थियौं । खेलाडीसँग उहाँ बस्नुभयो । खेलाडीको कुरा सुन्नुभयो,’ क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले न्युज कारखानासँग भने । 

उनकाअनुसार पाठकले आगामी ग्लोबल छनोटमा कसरी खेल्ने र टिम कसरी एकजुट हुने भन्ने विषयमा केन्द्रीत रहेर कुरा गरेका थिए । ‘हाम्रो काम भनेको ग्लोबल छनोटमा टिम एकजुट होस् र राम्रो प्रदर्शन होस् भन्ने हो । सम्झौता भएको केही हैन । पुरस्कृत गर्ने र कारबाही गर्ने दुबै काम क्यानको हो,’ उनले भने । 

यसअघि क्यानका ६ बोर्ड सदस्यले खेलाडीको कारवाही नियोजित पारामा भएको, नेतृत्वले आफ्नै  स्वेच्छाचारी ढंगले क्यान चलाएको, बोर्ड सदस्यको असहमतिका बाबजुद कारबाही गरिएको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । बुधबारमात्रै ६ बोर्ड सदस्यले पत्रकार सम्मेनल गर्दै खेलाडीमाथि भएको कारबाही फिर्ता लिनुपर्ने माग राखेका थिए । 

क्यानकाविरुद्ध सार्वजनिक माग गर्नेमा केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जयराज सिंह र राखेप प्रतिनिधि तथा केन्द्रीय सदस्य छुम्बी लामा रहेका छन् । 

सचिव मल्लले खेलाडीले जसरी कुरा बढाउँछन् त्यसरी नै आफूहरु बढ्ने र खेलाडी तयार भएको खण्डमा आफूहरु वार्ताको लागि तयार भएको बताए । ‘अहिले त्यस्तो केही कुरा छैन । खेलाडीले कुरा के गर्छन् । हामी अभिभावकको नाताले बस्छौं । आचारसंहिता उल्लंघन भएकै हो । त्यसमा दुई मत भएन । जसरी कुरा अगाडि बढ्छ । क्यान त्यसरी नै अगाडि बढ्छ । हाम्रो काम भनेको वातावरण राम्रो होस् । एकजुट हुँ भन्ने नै हो,’ उनले भने ।   

यता, निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ललेसमेत न्युज कारखानासँग बोल्दै बोर्ड सदस्यसँग वार्ता भएको र यसको आधिकारिक निर्णय समयमा आउने बताए । ‘वार्ताको कुरा उहाँहरुले नै बताउनु हुन्छ । आधिकारिक आएपछि राख्नुहुन्छ,’ उनले भने । 
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्