स्थानीय तह निर्वाचनबारे गृहमन्त्रालयमा छलफल

गृह मन्त्री बालकृष्ण खाणको सम्मन्वयमा स्थानीय तह निर्वाचन पूर्वका सुरक्षा सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे आज छलफल भएको छ ।

छलफलमा गृहमन्त्री बालकृष्ण खाण, संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थसचिव मधु मरासीनी, संघीय मामला तथा सामान्य प्रशासनसचिव सुरेश अधिकारी, परराष्ट्रसचिव भरत शर्मा पौड्याल सहभागि रहेका थिए ।

यस्तै नेपाली सेनाका रथी बालकृष्ण कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, लगायतको पनि उपस्थिति रहेको थियो ।

बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचन र आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सुरक्षा सरोकार र आवश्यक पर्ने स्रोत साधनबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो।

निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे छलफल भएको र बैठकमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्ने कि दुई पटक गरेर गर्ने भन्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

हिजो आउँदो माघ १२ मा हुने राष्ट्रिय सभाका १९ पदको निर्वाचनमा सुरक्षाबारे गृहमन्त्री खाणले सुरक्षा समितिको बैठकमा छलफल गर्नु भएको थियो । आज आउँदै गरेको स्थानीय तहको निर्वाचनबारे सरोकारवाला मन्त्रालयसँग छलफल गर्नुभएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्