काठमाडौँ,१४ कात्तिक ।
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका उहाँले आज भीमसेनगोलामा आयोजित ‘चुनावी कार्यक्रम’मा राजनीति स्थायित्वका लागि आगामी निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो ।
“संविधानको रक्षा, राजनीतिको स्थायित्व र विकास निर्माणलाई अगाडि बढाउन आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ,”– नेता सिंहले भन्नुभयो । आवधिक निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न उहाँले मतदातालाई आग्रह गर्नुभयो ।
पूर्व उपप्रधानमन्त्री सिंहले अवसर पाउँदा कुन राजनीतिक दलले के काम गरिरहेको छ, कुन नेता के गर्दैछन् यी सबैको लेखाजोखा गरेर निर्वाचनमा मतदाताले सही विवेक प्रयोग गर्नुपर्ने सुझाव दिनुभयोे । राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको उहाँको भनाइ थियो ।मुलुकको शासन पद्दति सुधार गर्दै युवालाई शिक्षा र रोजगारीको सुनिश्चितताका लागि कांग्रेस सदैव लाग्नेमा नेता सिंहले जोड दिनुभयो ।