कृष्णराज अधिकारी
एक दिनको कुरा हो । रोशनी म्याडमले मलाई केहि भन्न खोजे जस्तो गर्नुभयो तर, भन्न सकि रहनुभएको थिएन । मैले उहाँको मलिनो अनुहार र फरफराइरहेको ओठबाट केही भाव निस्किएकोे महसुस गरें । म्याम तपाईले केहि भन्न खोज्नु भएको हो ? मैले प्रश्न गरें । उहाँले सहजै भनिहाल्नुभयो हो सर हिजो आज म बिरामी छु । अनि आत्तिएको शैलिमा भन्नुभयो मलाई क्यान्सर पो भयो कि भन्ने लागेको छ । रातभर खोकी लाग्छ, निन्द्रा छैन । आँखाबाट बर्रर आँसु झार्नु भयो ।
उहाँले त्यस दिन मलाई धेरै कुरा खोल्नुभयो । एउटी छोरी छ डाक्टर पढ्छु भन्छिन् । मेरो हालत यस्तो छ अब उनको इच्छा कसले पूरा गर्ला ? म त मर्छु कि क्या हो कमाई धमाई भनेकै यही जागिर हो त्यै पनि अब नरहने भयो उपाय देखाइ दिनुपर्यो –रोशनी म्याडमले भक्कानो पर्दै भन्नुभयो । मलाई उहाँको त्यो रोदनसँगैको कुराले ज्यादै नरमाइलो बनायो । एकछिन त म नतमस्तक नै भएँ । अनि भने, स्वास्थ्यको ख्याल गर्नुहोस् तपाईको जागिरको चिन्ता नगर्नुहोस् । म भएसम्म हरसम्भव तपाईको सेवाको सुरक्षा गर्नेछु । बरु छोरीको पढाइमा बाधा नआओस् । आवश्यक परे अझ सहयोगको लागि मलाई भन्नुहोला–मैले ढाडस दिँदै भने । त्यतिभन्दै पनि उहाँको मनले केहि राहत महशुस गरेछ क्यारे अनुहारमा केही खुसीका तरंगहरु अल्झिएको देखें ।
सरकारी जागिर खाएपछि सधैं एकै ठाउँमा बस्न कहाँ पाइन्छ र ? म पनि केहि समयपछि अन्यत्रै सरुवा भएँ । अलि टाढा जान आउन पर्दा बाटो त्यहीँ थियो । सन्चो बिसन्चो सोध्ने गर्दथे । छोरीको पढाइको बारेमा पनि कुरा राख्ने गरिन्थ्यो ।
हिउँदको महिना दिन छोटो हुने । एक दिन साँझ पख अपरिचित नम्बरबाट फोन आयो । सर नमस्कार । हजुर आराम हुनुहुन्छ ? महिलाको आवाज थियो । मैले चिनिन नि । तपाई को हुनुहुन्छ ? मैले भने । ममिले नम्बर दिनुभएको । तपाईको नाम लिइ रहनुहुन्छ । मैले अलि अगाडि नै फोन गर्नुपथ्र्यो सरी है सर । उनले भनिन् । फोनमै अरु कुराहरु प्नि भए उनी त उनै म्याडम की छोरी रहिछन् डा.मञ्जरी । हाम्रो सहरमा चार पाँच महिनादेखि सेवा गरि रहेकी । रोशनी म्याडमकी छोरी, हाम्री पनि छोरी ।
भोलीपल्ट बिदाको दिन थियो । मैले डा.छोरीलाई मेरो घरमा खाना खान अनुरोध गरे । मञ्जरी छोरीले पनि नकार्न सकिनन् । म बिहानै छोरी लिन हिँडे । न त मैले उनीलाई कहिल्यै देखेको न उनले मलाई पनि । कसरी चिन्ने होला ? मेरो छोरी कस्ति होलिन् , काली छिन् कि गोरी । अग्लो छिन् कि होची । या जस्तो सुकै भएपनि उनी डाक्टर हुन् । हामीले नजम्माएकी छोरी , यस्तै कुराहरु मनमा खेलाउँदै मञ्जरी छोरी लिन हिँडे । फोनबाट नै छोरीको पहिचान भयो ।
घरमा हामी दुई बुढाबुढी मात्र । मैले आमा छोरीको चिनजान गराई दिएँ । दुवै जना खुशी देखिन्थे । छोरी ज्यादै फरासिली, क्षणमै हामी बीच आत्मियता बढेर गयो । मामुको भान्छामा हामी आउन हुने हो कि होइन ? उनले जिज्ञासा राख्न नभ्याउँदै किन नपाउनु नि । अरुले त पाउँछन् झन् छोरीले नपाउने हुन्छ र ? मैले हाँस्दै उनको उत्तर दिए । म बाहिर तिर घाम ताप्न निस्किए । छोरी किचन तिर ममीलाई सघाउन लागिछिन् ।
दिउँसो केहि समय म गाउँ जान पर्ने थियो । एक दुई घण्टा हराउन सक्छु, ममीसँग गफ गरी बस्नु है भन्दै बाहिर निस्किए । घर फर्कदा खाजा तयार थियो । भुटेको मकै, सिन्की र गुन्दु्रकको अचार,गिलास भरी मोही । यो हाम्रो गाउँको नेपाली गाउँको खाजा । छोरीको आफ्नै हातले बनाएको रे । खुबै मिठो थियो । दिउँसो खेतमा पनि डुल्न भ्याइछिन् । आमाछोरीसँगै बसेको टिकटक पनि देखाउँदै थिइन् । भोलीपल्ट बिहानै ओपिडी ड्युटीमा जानुपर्छ भनेकीले मैले छोरीलाई त्यस दिन राख्न सकिन । अर्को दिन बस्ने गरी आउँछु भन्ने बाचा गरेकीले मैले उनलाई अफिसमै पुर्याई दिएँ । मलाई अलि पर सडकसम्म आफैं पुर्याउन छोरी आइन् । सायद मेरो टोपी देखिन्जेलसम्म छोरीले चिह्याई रहेकी थिइन् होला ।
त्यसदिन देखि फेरी छोरीसँग दोहोरो सम्बाद हुन सकेको छैन । कहिले दिनमा, कहिले रातमा ड्युटी पर्छ भन्दै थिइन् । त्यसमा पढ्ने विद्यार्थी भएकीले फूर्सदको समयमा पुस्तक त पढ्न नै पर्यो । फोन गर्दा पढाईमा र ड्यूटीमा डिस्टर्व होला भनेर मैले पनि फोन गरेको छैन । तर, हिजो आज मेरो मनमा एउटा कुरा खेली रहन्छ , हामीले छोरी नजन्माएर के भो त ? अरुले जन्माएकी छोरीहरु पनि त हाम्रै सन्तान जस्तै त हुन् नि । आफूले जस्तो व्यवहार गर्यो अरुले पनि त्यस्तै व्यवहार गर्ने हो क्यारे ? छोराहरुमा भन्दा छोरीहरुमा माया ममता बढी हुन्छ भन्छन् । हेरौं कस्तो पर्ने हो ? त्यो त भविष्यले नै बताउने छ । तै पनि हामीले नजन्माएको छोरी । शिक्षित ज्ञानी विवेकी भए पुग्छ अरु केही चाहिँदैन, छोरी हाम्री छोरी।