नेपाल विद्युत प्राधिकरणले आफ्नो ३८ औं वार्षिकोत्सवको अवसरमा सोमबार देशभर एकै दिन एक लाखभन्दा बढी विरुवा रोपेको छ ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन कार्यालयहरु, उत्पादन सेवाअन्तर्गतका विद्युत उत्पादन गृहरुमा कार्यारत कर्मचारीहरुले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षरोपण गरेका हुन् ।
कार्यालयहरुले आआफ्नो क्षेत्रको हावापानी र माटोअनुसारका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका विरुवाहरु रोपेको प्राधिकरणले जनाएको छ।
जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माण गर्दा रुख काट्नेमात्र हैन रुखविरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्दै आएको छ ।