राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न चालक तथा सहचालकको स्वास्थ्य परीक्षण

धादिङ,१९ भाद्र ।
राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुवात गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो ।

यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । अभियान अन्तर्गत बेनिघाट रोराङ गाउँपालिकाको प्राविधिक सहयोगमा चालकको उच्च रक्तचाप, आँखाको भिजन परीक्षण लगायत मानसिक तथा शारीरिक थकानको जाँच गरिएको छ ।

पृथ्वी राजमार्ग हुँदै देशैभरका सवारीसाधन सङ्घीय राजधानी आवतजावत गर्ने भएकाले अन्य जिल्लालाई पनि सन्देश दिने उद्देश्यले पनि अभियानको थालनी गरिएको हो ।

“सबै जिल्लाबाट आवत जावत गर्ने सवारी साधनका चालक सहचालकको धादिङ जिल्लाले मात्रै स्वास्थ्य परीक्षण गर्न सम्भव हुँदैन । सबै जिल्लाका लागि सन्देश दिन पनि यो अभियान थालिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य परीक्षण गरिएका चालक तथा सहचालकमध्ये धेरैमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य समस्या भएकामध्ये अधिकांशमा उच्च रक्तचापको समस्या भेटियो । स्वास्थ्य समस्या देखिएका चालक सहचालकलाई आराम गराउँदै उपचार गरेर पठाएका छौँ । सवारीधनीलाई फोन गरेर जानकारी दिने र सचेत रहन सल्लाह पनि दिएका छौँ ।”

दुर्घटना न्यूनीकरणका उपायमध्ये चालकको स्वास्थ्य परीक्षण पनि एक भएका कारण स्वास्थ्य परीक्षण सुरु गरेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

यो अभियानसँगै जिल्लामा रहेका प्रत्येक ट्राफिक युनिटले दैनिक एक–एकवटा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कारबाही गर्ने, राजस्व सङ्कलन गर्नेमात्र नभई चालक, सहचालक, यात्रुको गनासो सुन्ने र तत्काल ट्राफिक प्रहरीबाट हुनसक्ने समस्या समाधान खोज्ने लक्ष्य लिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

“नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर विशेष कार्ययोजना बनाएका छौँ, धादिङ जिल्लामा २४ सै घण्टा जाँच पर्ने गरी ठाउँ–ठाउँमा भिन्दाभिन्दै कार्यक्रम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्