काठमाडौँ, १६ असोज ।
नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ललितपुरमा हुने सम्मेलनमा नेपाल लगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ ।
सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्रा.डा श्रीराम शर्माले जानकारी दिनुभयो । सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तान लगायतका देशबाट विज्ञको सहभागिता रहने उहाँको भनाइ छ।
यही असोज १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषय बारेमा छलफल हुने छ । मुख्य गरी यस सम्मेलनले नीति निर्माणका सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा शर्माको भनाइ छ।
उहाँका अनुसार प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालकै रहने छ । नेपालमा चट्याङ्सम्बन्धी सूचना प्रणालीहरु छैनन् भने रोकथामका लागि खास काम पनि हुन सकेको छैन । अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो उच्च जोखिममा पर्ने उहाँले बताउनुभयो ।