अन्तरराष्ट्रिय समुदाय मिलेर स्वास्थ्य चुनौती समाधान गर्नुपर्ने

पाटन (ललितपुर), २१ भदौ
 सभामुख देवराज घिमिरेले स्वास्थ्य चुनौती एक देशको समस्या मात्र नभएकाले अन्तरराष्ट्रिय समुदाय मिलेर यसकोे समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले स्वास्थ्य समस्या एक देशमा मात्र सीमित नरहेका, ती विश्वव्यापी छन् भन्दै तिनको समाधान पनि सामूहिक रुपमा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साझा दृष्टिकोण र सहकार्यद्वारा समस्याको समाधान खोजौँ, यो अन्तरराष्ट्रिय सहभागिताले त्यस दिशामा काम गरोस् ।”
सभामुख घिमिरेले ज्ञान, प्रविधि र सहकार्यका तीन आधारस्तम्भलाई एउटै मञ्चमा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा चीन, भारत र नेपालका स्त्री रोगविशेषज्ञ सहभागी छन् ।
देशकोे संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा व्याख्या गरेको बताउँदै सभामुख घिमिरेले स्वास्थ्यसम्बन्धी नीतिनिर्माणमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले महिला स्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको बताउँदै सन् २००० यता मातृ मृत्युदर ७० प्रतिशतले घटेको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य चन्दा कार्कीले देशका ग्रामीण क्षेत्रमा प्रभावकारी र गुणस्तरीय  स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि सरकारीस्तरमा नै आवश्यक प्रयास हुनुपर्ने बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विकास देवकोटाले स्त्रीरोग सेवालाई प्रभावकारी बनाउन सरकारले तल्लो तहदेखि नै सहयोग गर्दै आएको बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्