धादिङबेशी । धादिङ जिल्लाको दीगो विकास, आर्थिक समृद्धि र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको दशौँ धादिङ महोत्सव–२०८२ को औपचारिक उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल ले गर्ने भएका छन्।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ महोत्सव माघ १५ गतेदेखि २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३, धादिङबेसीस्थित खुल्लामञ्चमा सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन समारोह माघ १५ गते बिहान ११ बजे हुने आयोजकले जनाएको छ।
महासंघका अध्यक्ष ढकालको प्रमुख आतिथ्यतामा हुने उद्घाटन समारोहले धादिङको आर्थिक, औद्योगिक तथा पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रमार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, लगानी आकर्षित गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा अध्यक्ष ढकालले महोत्सवमार्फत सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीका अनुसार महोत्सवले जिल्लाको कृषि उत्पादन, स्थानीय उद्योग, जलस्रोत र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनेछ। “अध्यक्ष ढकालको उपस्थितिले महोत्सवको गरिमा मात्र होइन, धादिङको आर्थिक सम्भावनालाई थप उजागर गर्नेछ,” डल्लाकोटीले बताए।
महोत्सव अवधिभर औद्योगिक तथा कृषि प्रदर्शनी, व्यापारिक स्टल, स्थानीय परिकार, विविध सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिनेछ। यसले स्थानीय उद्यमी, किसान र युवाहरूलाई प्रत्यक्ष लाभ पुग्ने आयोजकको दाबी छ।आयोजक संस्थाले महोत्सवलाई सफल बनाउन सबै सरोकारवाला निकाय, व्यवसायी, किसान, युवा तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

