पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे, २२ वैशाख
इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन थालेको छ । उपाध्यक्षसँग युवा यद्यमी कार्यक्रमअन्तर्गत पालिकाबासीलाई अनुदान दिन सुरु गरेको हो ।

अनुदान पाएर हाल एक जना महिलाले गाउँपालिकाको नयाँबजारमा कोदो पिठोबाट बिस्कुट उत्पादन गर्न थाल्नुभएको छ । नयाँबजारकी पार्वती भट्टराईले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गर्नुभएको हो । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको उहाँको भनाइ छ ।

उद्यमी भट्टराईले उद्योग नै सञ्चालन गरेर यसको उत्पादन सुरु गर्नु भएको हो । भट्टराई ‘कोदोको बिस्कुट तथा बेकरी उद्योग’ नाम दिएर उद्योग स्थापना गरेको उहाँले बताउनुभयो । तयारी कोदो फल्ने, पिस्ने र मह वा चिनी एवं केही मैदा मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाएर यसलाई तयार गर्ने गरिएको छ । उत्पादन सुरु भरेको भर्खरै मात्र भएर हाल स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरूले कोसेलीका रूपमा बिस्कुट लैजाने गरेको उहाँको भनाइ छ ।

माईजोगमाई गाउँपालिकाद्वारा सञ्चालित उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमअन्तर्गत अनुदानमार्फत आफूले सो उद्योग स्थापना गरेको सञ्चालक भट्टराईको भनाइ छ । कोदोको परिकार शक्तिवद्र्धक मानिन्छ । यसमा मिसाइने गुलियो या मह चिनी, उखुको खुदोले अझ मिठोपन दिने गर्दछ ।

सँगै भट्टराईले पाउरोटीलगायतका परिकारसमेत निर्माण गर्ने गर्नुभएको छ । तयार गरेको कोदोको बिस्कुट उपभोक्ताले रुचाउने गरेको उहाँ बताउनुहुन्छ । स्वास्थ्यका लागि समेत राम्रो भएपछि यसलाई विस्तार गर्ने सोचमा रहेको सञ्चालक भट्टराई बताउँनुहुन्छ । मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आएकोसमेत उहाँको भनाइ छ ।

गाउँपालिकाले सहयोग गरेको यो कार्यक्रमले स्थानीयस्तरमा कोदाको समेत ‘ब्रान्डिङ’ हुने अपेक्षा लिइएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताउनुभयो । उहाँले बिस्कुट बनाउन थालेपछि कोदोलाई ‘ब्रान्ड’ बनाउन सकिने सम्भावनादेखिको उल्लेख गर्नुभयो । पछिल्लो समय कोदोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएपछि यसको उत्पादनसमेत कम हुँदै आएको छ । गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादन गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुने र उत्पादनसँगै किसानलाई फाइदा पुग्ने गाउँपालिका अध्यक्षको भनाइ छ ।

उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमले नेपालमा नै केही गर्न चाहने युवाहरूलाई सहयोग गर्ने गाउँपालिकाकी उपाध्यक्ष प्रवीना राईले बताउनुभयो । उहाँका अनुसार उद्योग स्थापना गर्न गाउँपालिकाले नै सहयोग गरेको छ । गाउँपालिकाले औजार खरिदमा सहयोग गरेको जनाइएको छ । विभिन्न वडामा रहेका युवाहरूलाई काममा जोड्न र आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

उहाँले यो कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउन सके गाउँपालिकाले थप सहयोग गर्ने बताउँदै व्यावसायिक तरिकाले काम गर्न सुझाव दिनुभयो । युवा तथा उद्यम गर्न चाहानेहरुले नयाँ र रचनात्मक हिसाबले काम गरे उद्योग सञ्चालकलाई मात्र नभएर सिङ्गो गाउँपालिकालाई नै फाइदा मिल्ने उहाँको भनाइ छ । वस्तु उत्पादनमा मात्र नभएर उत्पादित वस्तु बजारसम्म लैजानसमेत गाउँपालिकाको सहयोग आवश्यक छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्