त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर, २७ वैशाख
 कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द हरेक दिन बिहान महेन्द्रनगरस्थित कबर्डहलमा भेटिनुहुन्छ । उमेरले ज्येष्ठ नागरिक भए पनि उहाँको ब्याडमिन्टन खेलप्रतिको जाँगर, मेहनत र मोह भने लोभलाग्दो छ ।
विसं २०५६ देखि यस खेलमा लागेका चन्द ब्याडमिन्टन ‘कार्ट’ मा नपुगी आफ्नो दैनिकी सुरुआत नै नहुने गरेको बताउनुहुन्छ । “ब्याडमिन्टन एकप्रकारले लत जस्तै भइसक्यो, खेल्न नआएको दिन त बेचैन भइन्छ”, चन्दले भन्नुभयो,“यहाँ मेरो उमेर समूहको खेलाडी कोही पनि छैनन् ।”
उहाँले हरेक दिन बिहान ४ः०० बजेदेखि योग साधनामा बिताउने गरेको र त्यसपछि ब्याडमिन्टन खेल्न कबर्डहलमा आउने गरेको सुनाउनुभयो ।  व्यायाम, योगसाधना र स्वस्थ्य खानपिन स्वस्थ जीवनका लागि महत्त्वपूर्ण भएकाले आफू पहिलेदेखि नै यसमा सचते रहेको चन्दको भनाइ छ ।
भन्सार अधिकृतबाट २०७० सालमा सेवानिवृत्त हुनुभएका उहाँको अधिकांश समय खेल र योगसाधनामा बित्ने गरेको छ । “जागिरमा हुँदा धनगढी, नेपालगञ्ज, भैरहवा र वीरगञ्जसम्म पनि ब्याडमिन्टन खेलेँ । नेपालगञ्ज र वीरगञ्जमा जिल्लास्तरीय खेलमा तेस्रो स्थान हासिल गरेको सर्टिफिकेट अहिले पनि सुरक्षित राखेको छु”, चन्दले भन्नुभयो ।
आँखामा केही समस्या भएकाले टाढाको कर्क देख्न समस्या भए पनि अझै धेरै वर्षसम्म खेल्न सक्ने हिम्मत रहेको उहाँको भनाइ छ । “नियमित व्यायाम र खानपिनमा ध्यान दिइरहेको छु । शरीरले साथ दिएसम्म ब्याडमिन्टन खेलिरहने सोच छ”, चन्दले भन्नुभयो ।
उहाँले सुदूरपश्चिममा आफ्नो उमेर समूहको ब्याडमिन्टन खेलाडी पाउन गाह्रो रहेको दाबी गर्नुभयो ।
भीमदत्त नगरपालिका–६ का ६९ वर्षीय प्रेमसिंह भाट पनि दशकाँैदेखि  यहाँ ब्याडमिन्टन खेलमा नियमित सहभागी भइरहनुभएको छ । पछिल्लो समय युवा पुस्तामा यस खेलप्रति केही आकर्षण बढे पनि पाको पुस्ताका खेलाडी भने घट्दै गएको उहाँले बताउनुभयो ।
विसं २०६४ यता कबर्डहलमा नियमित खेल्ने गरेको बताउँदै भाटले भेट्रानतर्फ राष्ट्रियस्तरमा उपाधि जितिसकेको जानकारी दिनुभयो । “अब हाम्रो उमेरले राष्ट्रका लागि भन्दा पनि आफ्नो स्वास्थ्यका लागि खेल्ने हो । पछिल्ला दिनमा ब्याडमिन्टन खेल गाउँ÷गाउँमा विस्तार हँुदै गएको देख्दा खुसी लाग्छ ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्