तानसेन (पाल्पा), ३ असार
पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ । युवापुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सीप गाउँघरबाट हराउँदै गएको हो ।
जेनतेन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँ पुस्ताले यसतर्फ भने चासो देखाएका छैनन् । जनै बनाउने सीप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै यहाँका युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ ।
तानसेन नगरपालिका–२ कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिममा नगरभित्रका विद्यार्थी, महिला, पुरुषलगायत ४० जनाले जनै बाट्ने सीप लिन थालेका छन् ।
नयाँपुस्ताले जनै बनाउन थालेपछि भने पुरानापुस्तामा उत्साह छाएको छ । तानसेनका ७५ वर्षीय बेद बस्याल जनै बाट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुसी लागेको बताउनुहुन्छ ।
“जनैको महत्व युवापुस्ताले नबुझ्दा संस्कृति सङ्कटमा पर्दै गएको अब भने यो संस्कृति बचाउन सकिन्छ की भन्ने लागेको छ”, उहाँले भन्नुभयो । बराङ्गदीका हरी घिमिरेलाई पनि परम्परागत जनै बाट्ने र लगाउने संस्कृति लोप हुन लागेकामा चिन्ता थियो । तर अहिले नयाँ पुस्ताले जनै बनाउन सुरुगरेभन्दा खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुरानो पुस्ताले जनै बनाएर परम्पराको संरक्षण गर्दै आए पनि नयाँपुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति हराउँदै जान थालेको थियो, अब भने केही हुन्छ कि भन्ने लागेको छ ।”
तागाधारीको पहिचान भनेकै जनै रहेकाले यसको संरक्षणको लागि स्थानीय सरकारले अभियानकै रुपमा जनै बनाउने सीप सिकाउन लागेको वडाध्यक्ष महेश लाल श्रेष्ठले बताउनुभयो । एकातिर संस्कृतिको जगेर्णा हुने र अर्कोतर्फ आयआर्जनमा टेवा पुग्ने भएकाले युवा पुस्ताले जनै बनाउन चासो दिनुपर्ने वडा अध्यक्षको भनाइ छ ।
पाल्पामा झन्डै १५ वर्षअघिसम्म गाउँगाउँमा ब्राह्मणहरुका घरमा जनै बाट्ने परम्परा रहे पनि हिजोआज भने हराउँदै जान थालेको छ । जनै संस्कृतिलाई बचाइँराख्न युवामा जनै बनाउने सीप सिकाउनुपर्ने छ । स्थानीय धर्मचन्द्र नेपालले बताउनुभयो ।
युवाले जनै नबनाएकै कारण बर्सेनि विदेशबाट करोडौँ रुपैयाँको जनै आयात हुने गरेको छ । आयातित जनै भाती पु¥याएर बाटिएको हुँदैन । जनैमा पारिने गाँठोलाई सामान्यतया बह्मागाँठो पनि भनिन्छ । हिन्दू परम्परामा जनै ९यज्ञोपवीत० मा रहने उक्त गाँठोले ब्रह्मा, विष्णु, महेशको प्रतीकात्मक अर्थ बोकेको मानिन्छ । तर, किनुवा जनैलाई विधिपु¥याएर बाटिएको हुँदैन । त्यसैले किनुवा जनै नभई एकप्रकारको धागो मात्र भएको तागाधारीहरु बताउँछन् ।

