प्रतिनिधिसभामा सांसद श्रेष्ठको सम्बोधन : बाढी प्रभावित क्षेत्रमा एकैसाथ उत्खनन अभियान चलाऔँ

धादिङबेशी,१ असोज । धादिङ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले बाढी प्रभावित जिल्लाका निजी घर तथा सार्वजनिक, धार्मिक र वित्तीय संस्थाका भवनमा एकैसाथ खोज तथा उत्खनन अभियान सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले गृह मन्त्रालय वा एनडीआरआरएमएले विस्तृत योजना बनाएर सम्बन्धित सबै जिल्लामा निश्चित अवधि तोकी उत्खनन अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो।

त्रिशूली क्षेत्रबाट आफन्तहरूले घरभित्र परिवारका सदस्यको शव रहेको भन्दै तत्काल उत्खनन गरिदिन बारम्बार आग्रह गरिरहेको जानकारी दिँदै सांसद श्रेष्ठले खोज तथा उद्धारको विद्यमान कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

खोज तथा उद्धारको काम निरन्तर भए पनि त्यसको गति घटेको उल्लेख गर्दै उहाँले अब निजी घर, सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संस्था, पालिकाका भवन, पुरातात्त्विक सम्पदा, मठमन्दिर, धार्मिकस्थल तथा वित्तीय संस्थाका भवनको उत्खननमा केन्द्रित हुनुपर्ने बताउनुभयो।

सांसद श्रेष्ठले उत्खननका लागि क्षेत्रगत प्रतिनिधित्व र सम्बन्धित निकायको अनुमति आवश्यक पर्ने भएकाले छुट्टाछुट्टै टोली बनाउन सुझाव दिनुभयो। वित्तीय संस्थाका भवन उत्खनन गर्दा सम्बन्धित संस्थाका प्रतिनिधिलाई समेत सहभागी गराउनुपर्ने उहाँको भनाइ थियो।

उहाँले केन्द्रबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक निर्देशन र सहजीकरण गरी अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। उत्खननमा भारी उपकरण आवश्यक पर्ने भएकाले निजी क्षेत्रसँग सहकार्य गरी उपकरण जुटाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो।

खोज तथा उद्धार कार्य लम्बिँदा प्रभावित व्यक्ति त्रसित हुने र मानसिक आघातमा जान सक्ने उल्लेख गर्दै सांसद श्रेष्ठले एउटा काम सकेपछि अर्को काम गर्ने प्रक्रियाभन्दा सबै सम्बन्धित निकायलाई एकैपटक परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।

निश्चित अवधि तोकेर अभियानका रूपमा खोज तथा उत्खनन सञ्चालन गर्नुपर्ने बताउँदै उहाँले त्यसमा समुदायको सहभागिता पनि सुनिश्चित गर्न सरकार, विशेषगरी गृह मन्त्रालयसँग आग्रह गर्नुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्