गोरखामा मिनीट्रक दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ। आज बिहान ११ बजे आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा.५ख ६५६६ नम्बरको मिनीट्रक सडकबाट सय मिटर तल बुढीगण्डकीमा खसेर दुर्घटना हुँदा दुई वर्षीया बालिकासहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताउनुभयो।
मृत्यु हुनेमा चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ४ निवासी २३ वर्षीय नीराजन नेपाल, धार्चे गाउँपालिका– ३ उहियाकी शरणी गुरुङकी दुई वर्षीया छोरी सपना गुरुङ र पहिचान नखुलेका अन्दाजी २० वर्षीय पुरुष रहेका छन्।
चालकको उपचारका लागि स्थानीय मेडिकल लैजाँदै गर्दा र अन्य दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै दुर्घटनामा अन्य तिन जना घाईते भएका छन्।
घाइते धार्चे– ३ उहियाका आसमान गुरुङको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ। उनको आरुघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
यस्तै, घाइतेहरू धार्चे– ३ उहियाकै २६ वर्षीय शरणी गुरुङ र धार्चे–५ माछीखोलाकी अस्मिता गुरुङको थप उपचारका लागि प्रभु एयरको हेलिकोप्टरबाट काठमाडौंस्थित टिचिङ अस्पतालमा पठाइएको डिएसपी दाहालले जानकारी दिनुभयो।
दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ।