सहिद स्मारक ‘ए’ डिभिवन लिगको सातौं चरणको निर्णायक खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । साझ पौने ५ बजे हुने खेलले एएफसी छनोटमा स्थान बनाउने टोलीको टुंगो लाग्नेछ ।
दशरथ रंगशालामा जितले मछिन्द्र शीर्षस्थानमा रहँदै छनोट हुनेछ भने यदि बराबरी या हारले मनाङ मर्स्याङ्दी क्लब छनोट हुनेछ ।
गत वर्ष लिगको उपाधि जिते पनि एएफसी क्लब लाइसेन्स नभएकाले मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्न पाएन ।
यस सिजन मच्छिन्द्रसँगै त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लबसँग एएफसी क्लब लाइसेन्स छ। जसमध्ये शीर्षस्थानमा रहने एक टोली सातौं चरणपछि एएफसी छनोटमा स्थान बनाउनेछ ।
त्यसैले आइतबार सातौ चरणमा नेपाल पुलिस क्लबको सामना गर्दा मच्छिन्द्र स्पष्ट तीन अंक हात पार्दै शीर्ष स्थानमा फर्कदै एएफसी कप छनोट खेल्न चाहन्छ ।
सात खेलमा शीर्ष स्थानको मनाङको १६ अंक छ । दोस्रो स्थानको मच्छिन्द्रको १४ अंक छ । त्यसैले एएफसी कप छनोेटका लागि मच्छिन्द्रलाई पुलिसविरुद्ध जितको विकल्प छैन । बराबरी वा हारले मच्छिन्द्रको एएफसी कप छनोट खेल्ने लक्ष्य यस पटक पनि अधुरो बन्न सक्छ ।
पुलिस क्लब भने ६ खेलमा ६ अंकसहित १० औं स्थानमा छ । पाँचौ चरणमा मनाङलाई नतिजा सुम्पिएको पुलिस छैठौं चरणमा फ्रेन्डससँग गोलरहित बराबरीमा रोकिएको थियो ।