धानबालीमा क्षति बेहोरेका किसानको क्षतिपूर्ति माग गर्दै प्रशासनको ध्यानाकर्षण

बेमौसमी बर्षाका कारण धानबालीमा क्षति पुगेका किसानको क्षतिपूर्ति माग गर्र्दै नागरिक समाज धादिङले प्रशासनमा ध्यानाकर्षण–पत्र बुझाएको छ ।

बिहिबार नागरिक समाज संस्थाको प्रतिनिधित्व गर्दै नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्णराज अधिकारी सहितको टोलीले जिल्ला प्रशासन कार्यालय धादिङ पुगेर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

गत कार्तिकमा भएको बेमौसमी वर्षाका कारण भित्राउने बेला भएको बालि नष्ट भएको करिब दुई महिना बितिसक्दा पनि क्षतिपूर्ति पाउन नसकेको भन्दै यथासक्य छिटो क्षतिको बैज्ञानिक मुल्य निर्धारण गरी छिटो भन्दा छिटो राहत दिन प्रशासन कार्यालय मार्फत सम्पूर्ण पालिकाहरुलाई ध्यानाकर्षण गराईएको नेपाल मानवअधिकार संगठन धादिङका उपसभापति शेर बहादुर भण्डारीले बताउनुभयो।

ध्यानाकर्षण पत्रमा स्थानिय तहको सिफारिस समितिले स्थानिय विपद व्यवस्थापन समितिमा राहत वितरणको लागी छिटो सिफारिस गर्न, दफा १४ अनुसार गठन भएको अनुगमन समितिले नागरिक समाज संस्थाको संलग्नतामा राहत वितरणको अनुगमन गर्न,किसानको बाली बिमाको लागी कानुन निर्माण गरी कार्यान्वयन गर्न माग गरिएको छ।

त्यस्तै सुचना प्रवाह अध्यावधिक गर्नुपर्ने, नागरिकहरुको मौलिक हकको प्रत्याभुति गर्नुपर्ने र किसानको माग अनुसार रासायनिक मल, बिउबिजन, कोल्ड स्टोर लगायतको व्यवस्था गर्न ध्यानाकर्षण–पत्रमा भनिएको छ।

सरकारले क्षतिको अवस्था अनुसार किसानहरुलाई राहत उपलब्ध गराउनका लागि मापदण्ड बनाएर सम्पूर्ण पालिकालाई लगत संकलनका लागि निर्देशन गरिसक्दा पनि स्थानीय तहको ढिलासुस्तीका कारण किसानहरु क्षतिपूर्ति पाउनबाट बन्चित भएका हुन् ।यसबर्ष असोज र कात्तिक महिनाको बेमौसमी वर्षाले जिल्लामा ४७५ मेट्रिकटन धानमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्