अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि एक तिहाइ दर्शकलाई मैदान प्रवेश दिने भएको छ ।
एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलका लागि मैदानको कुल क्षमताको ३३ प्रतिशत दर्शकलाई मैदान प्रवेशका लागि अनुमति दिने भएको छ ।
यस्तै एन्फाले मैदानको टिकट दर समेत निर्धारण गरेको छ । भिआइपी तर्फ एक हजार र सामान्य तर्फ पाँच सय टिकट निर्धारण गरिएको हो।
यस्तै एन्फाले दुवै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने बताएको छ ।
यस अघि एन्फा दर्शक प्रवेशमा अनिर्णीत बनेको थियो । जिल्ला प्रशासनको स्वीकृत पछि एन्फा मैदानमा दर्शक प्रवेश गराउने निर्णयमा पुगेको हो।
खेलको लागि मौरिसस टोली हिजो (सोमबार) नै नेपाल आइसकेको छ । यता, नेपाली टोली भने प्रशिक्षणमा व्यस्त छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । जसमा ९ खेलाडीले पहिलो पटक अवसर पाएका छन् ।
प्रशिक्षक अब्दुल्लाहले केही दिनमै २३ सदस्यीय टिम घोषणा गर्नेछन् ।