अमेरिकासँग पारस्परिक सम्मानजनक सम्बन्ध चाहन्छौंः रसियाली विदेशमन्त्री लाभरोभ

एजेन्सी
मस्को, १७ माघ

रसियाली विदेशमन्त्री सर्गेई लाभरोभले रसियाले अमेरिकासँग ‘पारस्परिक सम्मानजनक’ सम्बन्ध चाहेको बताएका छन् । युक्रेन संकटलाई लिएर अमेरिका र रसियाबीच तनाब चर्किरहेकै बेला विदेशमन्त्री लाभरोभको भनाई सार्वजनिक भएको हो । 

‘विश्वका अन्य देशहरुसँग झैँ हामीले अमेरिकासँग राम्रो, समान र पारस्परिक सम्मानजनक सम्बन्ध चाहन्छौं,’ रसियाको समाचार च्यानल ओनसँगको अन्तर्वार्तामा लाभरोभले भने । उनले अगाडि भने, ‘हामी एउटा त्यस्तो अवस्थामा बस्न सक्दैनौं जहाँ दैनिक हाम्रो सुरक्षामाथि धावा बोलिन्छ ।’

युक्रेनसँगको सीमामा रसियाले एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । रसियाले युक्रेनमाथि अतिक्रमणको आशय नभएको बताए पनि पश्चिमालगायतका देशहरुले रसियाले युक्रेमाथि हमला गर्न खोजेको बताउँदै आएका छन् । सन् २०१४ को युद्धपछि रसियाले युक्रेनको महत्वपूर्ण भाग क्रिमियालाई आफ्नो भूभागमा विलय गराएको थियो । 

सीमामा रहेका फौज हटाउन रसियामाथि बढ्दो अन्तर्राष्ट्रिय दबाब छ । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्न सक्ने वासिंगटनले बताउँदै आएको छ । तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सिकीले आक्रमणबारे अनावश्यक त्रास सृजना नगर्न पश्चिमेली गठबन्धनलाई अनुरोध गर्दै आएका छन् ।

पूर्वी युरोपमा नेटोको अतिक्रमण बढेको भन्दै रसियाले वासिंगटन र अमेरिकी नेतृत्वको सैन्य गठबन्धनसँग सुरक्षा माग गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्