स्थायी शिक्षक पदको लागि २ लाख ३७ हजारले दिए आवेदन,आवेदन दिने आज अन्तिम दिन

झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन दिने समय सकिँदै छ । योसँगै आजबाट शिक्षक सेवा आयोगको सबै विज्ञापनको फाराम भर्ने म्याद सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताउनुभयो ।

उहाँको अनुसार बिहीबारसम्म २ लाख ३६ हजार ३ सय ४७ जनाले फारम भरेका छन् र अझै करिब ७ सयको आवेदन पर्न सक्ने आँकलन गरिएको छ। सूचना अधिकारी मरहठ्ठाका अनुसार हालसम्म माध्यमिक विद्यालय तहमा १ हजार ५ सय ५२ जनाका लागि ३५ हजार ५ सय ४५ र निम्न माध्यमिक विद्यालय तहको १ हजार ६ सय ६ जनाका लागि ८५ हजार ६ सय ३३ जनाले आवेदन फारम भरेका छन् ।

प्राथमिक विद्यालय तहमा १३ हजार २ सय ९७ जनाको माग भएकोमा हिजो बिहीबारसम्म १ लाख १५ हजार १ सय ६९ जनाले आवेदन दिएका छन्। सबै तथ्यांक संकलन गर्दा तीन तहको परीक्षामा करिब २ लाख ३७ हजार जनाको आवेदन पर्ने अनुमान गरिएको मरहठ्ठाले बताउनुभयो ।

आयोग मावि तहको परीक्षा चैत १५ मा गर्ने तय गरिसकेको छ । त्यसै गरी निमाविको चैत १७ र प्राविको चैत १९ गते परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरेको छ । त्यस्तै खुला बढुवातर्फ २१ चैतमा परीक्षा गर्ने निर्णय गरेको छ । नेपाल समाचारपत्रबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्