धादिङमा खुल्न थाले विद्यालय,फागुन १ देखि खोल्न सीसीएमसीसीको सिफारिस

धादिङमा धमाधम विद्यालय खुल्न थालेका छन् ।कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढ्दै गएपछि बन्द रहेको विद्यालय स्थानीय तहले विद्यालय खोल्न थालेका छन्।

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका विद्यालयहरू आजबाट सञ्चालन भएका छन् ।आजबाट पालिका भित्रका सबै विद्यालयहरू सञ्चालन भएको गाउँपालिकाले जनाएको छ।

यसैगरी गजुरी गाउँपालिकाका विद्यालयहरु भोलि सोमबारदेखी खुल्ने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै माघ २४ गते सोमबारबाट गाउँपालिकाका विद्यालयहरु खुल्ने जानकारी गराएको छ।

यस्तै ज्वालामुखी गाउँपालिकाले आज सूचना जारी गर्दै भोलिदेखि गाउँपालिकामा रहेका सामुदायिक तथा निजी बिद्यालयहरु कोभीड–१९ सम्बन्धि स्वास्थ्य मापदण्ड पुरा गरि संचालन गर्न आग्रह गरेको छ।

धादिङका केही पालिकाले सूचना जारी गर्दै भौतिक उपस्थिति मै पठनपाठन गराउन विद्यालयहरुलाई निर्देशन दिएका छन् भने केही पालिकाहरुमा सूचना अगावै विद्यालय संचालनमा आईसकेका छन्।

सरकारले कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर आउँदो फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ।सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको छ।

यसैगरी आज बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) बैठकले फागुन १ गतेदेखि विद्यालय, सिनेमा घर र रात्रीकालिन व्यवसाय संचालनमा ल्याउन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको छ।

माघ १ गतेदेखि १२ वर्षमाथिका विद्यार्थीको हकमा नियमित भौतिक पठनपाठन र सोभन्दा कम उमेरका विद्यार्थीको हकमा आलोपालो कक्षा संचालन हुने गरि अघि बढ्न पनि सीसीएमसीले सिफारिस गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्