उत्तर कोरियाले साइबर आक्रमणबाट लाखौँ डलर चोरी गरेको राष्ट्र संघको दाबी

२४ माघ ।
एजेन्सी

उत्तर कोरियाले साइबर आक्रमणबाट लाखौँ डलर चोरी गरेको संयुक्त राष्ट्र संघको एक अध्ययनले देखाएको छ। राष्ट्र संघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उत्तर कोरियाले साइबर आक्रमणमार्फत् क्रिप्टोकरेन्सी चोरी गरेर क्षेप्यास्त्र कार्यक्रम विस्तार गरिरहेको छ।

अनुन्धानकर्ताहरुले उत्तर कोरियाले सन् २०२० र २०२१ को बीचमा साइबर आक्रमणबाट ५० मिलियन डलरभन्दा बढी सम्पत्ति चोरी गरेको पाएका छन्। यसरी चोरिएको पैसा प्योङयाङले परमाणु तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि महत्त्वपूर्ण राजस्व स्रोतका रुपमा प्रयोग गरेको छ।

साइबर आक्रमणमा उत्तरी अमेरिका, युरोप तथा एसियामा कम्तीमा तीन क्रिप्टोकरेन्सी एक्सचेन्जलाई टारगेट गरिएको छ। राष्ट्र संघको प्रतिवेदनमा गत महिनाको सेक्युरिटी फ्रम चेनालिसिसमा प्रकाशित एक अध्ययनलाई पनि उल्लेख गरिएको छ। जसमा उत्तर कोरियाली साइबर आक्रमणमा गत वर्ष ४०० मिलियन डलर बराबरको डिजिटल सम्पत्ति चोरी गरेको उल्लेख छ।

संयुक्त राष्ट्र संघले सन् २०१९ मा उत्तर कोरियाले साइबर आक्रमणमार्फत् हतियारका लागि दुई अर्ब डलर संकलन गरेको उल्लेख गरेको छ। संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियामाथि परमाणु परीक्षण र ब्यालेस्टिक मिसाइल परीक्षणमा प्रतिबन्ध लगाएको छ। तर‚ उत्तर कोरियाले गम्भीर प्रतिबन्धका बावजुद परमाणु परीक्षण र ब्यालेस्टिक हतियार उत्पादनलाई तीव्र पार्न सफल भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्