मधेसमा दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै, सार्वजनिक लेखा समिति पनि सत्तारुढकाे भागमा

जनकपुरधाम,२५ माघ 

मधेस प्रदेशसभामा रिक्त दुईवटा संसदीय समितिका सभापति आज मंगलबार चयन हुँदैछन् । 

सार्वजनिक लेखा समिति र  कृषि तथा भूमि व्यवस्था समितिले आज सभापति पाउन लागेकाे हाे ।  सार्वजनिक लेखामा सभापतिमा सभापतिका लागि कांग्रेसबाट नरेशकुमार यादव र प्रतिपक्षी लाेसपाबाट प्रल्हाद गिरिले उम्मेदवारी दर्ता गराएका छन् ।

कृषि समितिमा सत्तारुढ दलबाट नेकपा एकीकृत समाजवादीका मदनसेन प्रसाद श्रीवास्तव र प्रतिपक्ष नेकपा एमालेकी जगतारण देवीले मनोनयन पत्र दर्ता गराएका छन् । 

एकल उम्मेदवारी परेपछि नेकपा माओवादी केन्द्रका जगत यादव भने प्राकृतिक स्राेत तथा वातावरण समितिमा निर्विरोध निर्वाचित भइसकेका छन्।

सार्वजनिक लेखा समितिमा कांग्रेस, कृषि समितिमा एस र प्राकृतिक स्राेतमा माओवादी केन्द्रले पाउनेगरी सत्ता गठबन्धनमा भागवण्डा भएअनुसार उम्मेदवारी परेकाे हाे ।

समाजवादीका मनिष सुमनले अर्थ तथा योजना समिति, अब्दुल कलाम अजादले विकास समिति र अशोक यादवले प्रदेश मामिला समितिको सभापति यसअघि नै पाइसकेका छन् ।

लेखा समिति सत्तारुढकै पाेल्टामा, प्रतिपक्षीकाे विराेध

संसदीय व्यवस्थामा संसदकाे सार्वजनिक लेखा समितिकाे नेतृत्व प्रमुख प्रतिपक्षीले लिने प्रचलन छ । प्रदेश सभामा पनि साेही अभ्यास भइरहेकाे छ ।

तर, प्रदेश २ मा सत्तारुढ दलले नै सार्वजनिक लेखा समितिकाे सभापति पाउने भएपछि  प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले विराेध गरेकाे छ । संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीले  पाउनुपर्ने मान्यता रहेकोले उक्त समितिको नेतृत्व पाउनुपर्ने लोसपाका प्रमुख सचेतक परमेशर साहले बताए । 
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्