विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन धुलोमुक्त अभियान

मार्तडी, माघ २५ गते । 

बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाले शैक्षिक सुधार र सहजरूपमा गुणस्तरीय शिक्षा हासिलका साथै विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन विद्यालयमा धुलोमुक्त अभियान अघि सारेको छ ।

गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकालाई गुणस्तर शिक्षा दिन र स्वस्थकर शैक्षिक वातावरण आवश्यक रहेकाले विद्यार्थीलाई चिसो र धुलोमुक्त बनाउने गरी प्रत्येक विद्यालयमा डेस्क, बेञ्च र भुइँमा कार्पेट बिछ्याउने अभियान अघि सारिएको गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।

ग्रामीण भेगका अधिकांश विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीलाई बस्ने डेस्क, बेञ्च र भुइँमा ओछ्याउने कार्पेट अभाव हुँदा उनीहरू भुँइमै बसेर अध्ययन गर्दै आएका थिए । गाउँपालिकाका अधिकांश बस्ती दुर्गममा रहेका र समुदायस्तरका बालबालिकाले पठनपाठन गर्ने विद्यालयमा पर्याप्त डेस्क, बेन्च तथा कार्पेट अभावका कारण चिसो भुइँमा बसेर अध्ययन गरिरहेकाले उनीहरूलाई चिसो र धुलोबाट जोगाउन धुलोमुक्त योजना ल्याइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयका कक्षाकोठामा धुलो र चिसोले गर्दा बालबालिकाको स्वास्थ्यमा असर पार्नुका साथै उनीहरुले शिक्षा आर्जन गर्नुको साटो बालबालिकामा निमोनियालगायत रोग लिएर घर फर्किने समस्या भएकाले गाउँपालिकाको आन्तरिक स्रोतबाट सबै विद्यालयलाई चाहिने मात्रामा डेस्क, बेन्च र कार्पेट वितरण गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।

गाउँपालिकाभित्रका २२ विद्यालयमा तीन हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । ती विद्यालयमा अध्ययन गर्दै आएका सबै विद्यार्थीलाई पुग्ने गरी प्रारम्भिक बालकक्षादेखि ३ कक्षासम्मका बालबालिकाका लागि एक हजार ५० मिटर कार्पेट र कक्षा ३ देखि १२ सम्मका विद्यार्थीका लागि ७०० भन्दा बढी डेस्क, बेञ्च वितरण गरिएको भण्डारीको भनाइ छ ।–रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्