धादिङका ४१२ सहित वाग्मतीमा २६ सय बालबालिका कुपोषित

वाग्मती प्रदेशभर २६ सय बालबालिका कुपोषित रहेका छन्। प्रदेशका १३ जिल्लामध्ये गम्भीरखाले कुपोषितको संख्या ९ सय ५५ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाको तथ्यांकमा उल्लेख गरिएको छ।१३ जिल्लामध्ये सबैभन्दा धेरै ललितपुरमा ७०४ र कम रसुवामा ८ बालबालिकामा कुपोषणको समस्या रहेको तथ्यांक अधिकृत इन्द्रमणि भण्डारीले बताउनुभयो।

ललितपुरमा कुपोषित हुने ११ महिनासम्मका बालबालिकाको संख्या सर्वाधिक (७०४ जना) रहेको भने चितवनमा २ सय ७ छ ।यसैगरी,कुपोषित हुने एक वर्षदेखि २३ महिनासम्मका बालबालिकाको संख्या चितवनमा २ सय २० छ ।तथ्यांक अनुसार धादिङ जिल्लामा ४१२ जना बालबालिका कुपोषित रहेका छन्।धादिङमा ११ महिनासम्मका बालबालिका १ सय ९७ जना र एक वर्षदेखि २३ महिनासम्मका बालबालिकाको संख्या धादिङमा २ सय ७५ गरी ४१२ जना बालबालिका कुपोषित छन् ।

प्रदेशभरिमा कुपोषित हुने बालबालिकाको संख्या सबैभन्दा कम रसुवामा छ । यहाँ ११ महिनासम्मका २ जना र एक वर्षदेखि २३ महिनासम्मका ६ जना मात्रै कुपोषित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठले बताउनुभयो ।

वाग्मती प्रदेशमा २३ महिनासम्मका एक लाख ५४ हजार ७ सय ५९ बालबालिका छन् । तीमध्ये २ हजार ५ सय ९५ बालबालिका कुपोषणले ग्रसित रहेको उहाँले बताउनुभयो ।जसमध्ये गम्भीर खालका कुपोषितको संख्या ९ सय ५५ जना छन्।

‘खाद्य असुरक्षा, गरिबी र चेतनास्तर कमजोर भएका गाउँबस्तीका अधिकांश बालबालिकाहरू कुपोषणले ग्रसित भेटिएका छन् ।कुपोषणबाट बालबालिकालाई मुक्त गर्नका लागि निर्देशनालय, स्वास्थ्य कार्यालयलगायतले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उहाँले बताउनुभएको छ।

बालबालिकालाई कुपोषणबाट मुक्त गर्न भन्दै सरकारले स्थानीय तहबाटै बालभिटा वितरण गरिरहेको छ । तर कतिपय अभिभावकलाई यसबारे जानकारी नै छैन । बालभिटा खपत नभएर म्याद नाघ्दा स्थानीय तहले नष्ट गर्नुपरेको स्वास्थ्यकर्मीको भनाइ छ ।जन्मेको ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउन बालभिटा खुवाउने गरिन्छ ।

पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको बालभिटा कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहले बालभिटा निःशुल्क रूपमा उपलब्ध गराउँछन् । बच्चा जन्मेको ६ महिनादेखि ११ महिनासम्म, १२ महिनादेखि १७ महिनासम्म र १८ महिनादेखि २३ महिनासम्मलाई हुने गरी स्थानीय तहले ३ पटक बालभिटा वितरण गर्ने गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्