कोभिडको चौथो डोज आवश्यक पर्न सक्छः एन्टोनी फाउसी

न्युयोर्क,२७ माघ ।

ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार एन्टोनी फाउसीले कोभिड १९ को भेरियन्ट ओमिक्रोन सामना गर्न अमेरिकामा चौथो डोज खोप आवश्यक पर्ने संकेत गरेका छन् । व्यक्तिको उमेर र उसमा अन्तर्तिहित अवस्थाहरुका आधारमा चौथो बुस्टर डोज दिन सकिने उनको भनाई छ । 

‘मेसेन्जर आरएनए (एमआरएनए) खोप लगाएका व्यक्तिहरुलाई उनीहरुको उमेर र अवस्थाका आधारमा फेरि अर्को बुस्टर डोज आवश्यक पर्न सक्छ,’ फाउसीले भने । 

तेस्रोबाहेक अर्को एउटा खोपको आवश्यकतासम्बन्धी तथ्यांक सञ्चारकर्मीलाई देखाउँदै फाउसीले त्यो एउटा प्रष्ट विषय भएको र त्यसलाई आफूले धेरै नजिकबाट निहालेको बताए ।

यसअघि फाउसीले नोभेम्बरमा पहिलो पटक ओमिक्रोन भेरियन्ट देखिएपछि विश्वभर पाँच लाख मानिसको मृत्यु भएको बताउँदै यसलाई कोरोनाभाईरस संकटको ‘पूर्ण विकसित महामारीको चरण’ भनेका थिए ।

ओमिक्रोनलाई भेरियन्ट अफ कन्सर्न घोषणा गरेपछि अमेरिकामा करिब १ लाख जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले मंगलबार जनाएको थियो । यसैबीच अमेरिकामा विभिन्न राज्यमा लागू भएका कोभिड १९ मास्क म्यान्डेटलाई अन्त्य गरिँदैछन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्