एक वर्षमा भ्रष्टाचार सम्बन्धी २४ हजार बढी उजुरी

काठमाडौँ,२८ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा परेका २४ हजार १ सय ९० उजुरीमध्ये १५ हजार ५ सय ४७ उजुरी फस्र्योट गरेको छ । आयोगमा गत वर्षको २७ माघदेखि २०७८ को माघसम्म १४ हजार १ सय १६ उजुरी परेको थियो । यस्तै, अघिल्लो वर्षबाट १० हजार ७४ वटा उजुरीको जिम्मेवारी सरेर आएको थियो ।

जिम्मेवारी सरेर आएकासहित २४ हजार १ सय ९० उजुरीमध्ये १५ हजार ५ सय ४७ वटा उजुरी फस्र्योट गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो । सहायक प्रवक्ता भण्डारीले कोभिड १९ का बाबजुद पनि अख्तियारले उल्लेख्य रूपमा उजुरीहरू फस्र्योट गर्न सफल भएको बताउनुभयो ।

यस अवधिमा फस्र्योट भएका उजुरी प्रतिशत दर ६४ दशमलव २७ प्रतिशत रहेको छ । अख्तियारका अनुसार प्रारम्भिक छानबिनबाट फस्र्योट भएका उजुरीमध्ये ४ सय ९६ वटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ भने ६ हजार १ सय ३२ उजुरी तामेलीमा राखिएको छ ।

७ सय ६७ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ८ हजार १ सय ५२ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाही गरिएको सहायक प्रवक्ता भण्डारीले बताउनुभयो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्