बर्नमाउथलाई हराउँदै युनाइटेड चौथो स्थानमा उक्लियो

काठमाडौं, २० असार । प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेडले जीत हात पारेको छ । एएफसी बर्नमाउथलाई ५-२ ले हराउँदै युनाइटेडले महत्वपूर्ण ३ अंक बटुलेको छ ।

युनाइटेडको जीतमा मेसन ग्रीनवूडले २ तथा एन्थनी मार्सियाल, ब्रुनो फर्नान्डेस र मार्कस रासफोर्डले १-१ गोल गरे । बर्नमाउथका लागि स्टानिसलास र किंगले १-१ गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने बर्नमाउथले लिएको थियो । स्टानिसलासले खेलको १६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएपनि त्यसको १३ मिनेटमै ग्रीनवूडले बराबरी गोल गरेका थिए । त्यसपछि ३५औं मिनेटमा रासफोर्डले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई पुुनः अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर मार्सियालले गोल गरेपछि युनाइटेडले ३-१ को अग्रता बनाएको थियो ।

दोस्रो हाफ सुरु भएपछि बर्नमाउथका किंगले ४९औं मिनेटमा दोस्रो गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल गर्न सकेन । युनाइटेडका ग्रीनवूडले व्यक्तिगत दोस्रो गोल गर्दै गोलअन्तर अझ फराकिलो पारे । ब्रुनो फर्नान्डेसले ५९औं मिनेटमा अर्को गोल थपेपछि युनाइटेडले ५-२ को अग्रता कायम गरेको थियो ।

जीतसँगै महत्वपूर्ण ३ अंक बटुलेको युनाइटेड ३३ खेलबाट ५५ अंकसहित लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ र आगामी सिजन च्याम्पियन्स् लिगका लागि छनौट हुने सम्भावना बलियो बनाएको छ ।

पराजित बर्नमाउथको समान खेलबाट २७ अंक छ अंकतालिकाको पुछारबाट दोस्रोमा यथावत् छ ।

sajhapost

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्