भारतमा ३८ जनालाई फाँसी

अहमदाबाद,०६ फागुन । 

भारतको एक अदालतले ३८ जनालाई मृत्युदण्ड र ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। 

गुजरातको अहमदाबादमा भएको शृङ्खलाबद्ध बम विस्फोटको मुद्दामा अहमदाबाद विशेष अदालतले शुक्रबार (आज) बम विस्फोटका दोषीलाई उक्त सजाय सुनाएको हो।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै अदालत वरपर भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यी शृङ्खलाबद्ध विस्फोटका घटनामा अदालतले ४९ जना अभियुक्तलाई दोषी ठहर गर्दै आज सजाय तोकेको हो।

सन् २००८ मा अहमदाबादको क्षेत्रमा शृङ्खलाबद्ध विस्फोट भएका थिए।

यी शृङ्खलाबद्ध बम विस्फोटहरू अहमदाबादमा २६ जुलाई २००८ मा भएका थिए। ७० मिनेटभित्र ५६ जनाको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी घाइते भएका थिए।

१३ वर्षभन्दा बढी समय अदालतमा मुद्दा चल्यो। गत हप्ता विशेष अदालतले ४९ जनालाई दोषी ठहर गरेको थियो भने २८ जनालाई सफाइ दिएको थियो।

अमित पटेलले भने, ‘सुनुवाइ सकिएको छ र अब फैसला सुनाइएको छ। यसै साता सोमबार अभियोजन पक्षले बहस सकाएर दोषीलाई अधिकतम सजायको माग गरेको थियो।

प्रतिवादी पक्षले मंगलबार आफ्नो बहस सकेको थियो। 

अदालतले गत वर्ष सेप्टेम्बरमा ७७ जना अभियुक्तविरुद्धको सुनुवाइ प्रक्रिया पूरा गरेको थियो।

मुद्दा चलिरहेका ७८ जनामध्ये एकजना सरकारी साक्षी बनेका थिए। उक्त अभियुक्त आतङ्ककारी संगठन इन्डियन मुजाहिद्दीनसँग सम्बन्धित रहेको प्रहरीले दाबी गरेको छ।

इन्डियन मुजाहिद्दीनका आतंकवादीले सन् २००२ को गोधरा दंगाको बदला लिन षड्यन्त्र रचेको आरोप लगाइएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्