विश्वकपमा छनोट हुनबाट चुक्याे नेपाल, खेलाडी क्रिजमा टिक्नै सकेनन्

काठमाडौँ । नेपाल आइसिसी टि२० विश्वकप छनोट हुनबाट चुकेको छ । मंगलबार भएको विश्वकप छनोट ‘ए’को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो । 

युएईले प्रस्तुत गरेको १७६ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा निकै खराब सुरुवात गरेको नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमै समेटिएको हो । युएईका बलिङसामू नेपाली खेलाडी क्रिजमा जम्न सकेनन् । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाउँदा ज्ञानेन्द्र मल्ल २० रनमा पेभेलियन फर्किए । 

नेपालले तेस्रो ओभरमै तीन विकेट गुमाउँदै संकटमा पुगेको थियो । पहिलो ओभरको चौथो बलमा आसिफ शेख शून्यमा एलबीडब्लूमा आउट हुँदा अर्को बलमा लोकेश बम ठूलो सट खेल्ने धुनमा गोल्डेन डक आउट क्याच भए । नेपाली टिमको आश बोकेका ओपनर कुश भुर्तेसमेत ७ रनमा आउट भए । 

युएईका कप्तान अहमद राजा एक्लैले ५ विकेट लिए । त्यस्तै, जुनैद सिद्दिकले ३ विकेट लिँदा जाहुर खान र रोहन मुस्तफाले समान १/१ विकेट लिए । 

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो । युएईका लागि ओपनर मुहम्मद वासिमले सर्वाधिक ७० रन जोडे । त्यस्तै, विष्फोटक ब्याटिङ गरेका १९ वर्षिय युवा विकेटकिपर वृत्य अरविन्द २३ बलमा ४६ रन बनाउँदै आउट भए । 

मुहम्मद उष्मानले १७ तथा जवार फरिदले ११ रन जोडे ।  

खेलको सुरुवातमा उच्च लयमा रहेका ओपनर चिराग सुरीलाई ४ रनमा बोल्ड आउट गर्दै नेपालले महत्वपूर्ण सफलता लिएपनि त्यसपछि भने खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले समान ३-३ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए। 

योसँगै नेपालले दोस्रो पटक  विश्वकपमा पुग्ने अवसर गुमाएको छ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो । नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो ।

अर्को सेमिफाइनलमा ओमानलाई हराउँदै आयरल्याण्ड विश्वकपमा छनोट भएको छ । फाइनल प्रबेश गर्ने युएइई र आयरल्याण्डले अब आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्नेछन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्