बुढेसकालको प्रेमले निम्त्याएको अपराध– आफैं हत्या, आफैँ उजुरी !

दाङको राप्ती गाउँपालिका– ३ वसन्तपुरकी उमादेवी चौधरीले काममा जान्छु भन्दै निस्किएका आफ्ना पति घर नफर्किएको भन्दै फागुन ५ गते प्रहरीमा निवेदन दिइन् ।

फागुन १ गते बिहानै घरबाट निस्किएका ४५ वर्षीय पति लप्टन चौधरी घर नफर्किएकाले खोजी गरिदिन उनले निवेदन दिएकी थिइन् ।

गढवा गाउँपालिका– ३ गोवरडियातर्फ गएको र घर नफर्किएको उनले निवेदनमा उल्लेख गरेकी थिइन् । त्यसलगत्तै इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुवन भट्ट नेतृत्वको टोली अनुसन्धानमा खटियो ।

उनको टोलीले फागुन ५ गते बेलुका ६ बजे गढवा गाउँपालिका २ कोठरीस्थित राप्ती नदीमा एउटा शव फेला पार्‍यो । 

प्रहरीले उमादेवी र छरछिमेकलाई सनाखत गराउँदा लप्टनको शव भएको पुष्टि भयो । उनको घाँटीमा चोट देखिएपछि कसैले हत्या गरेको भन्ने आशंकामा अनुसन्धान शुरू भयो । 

लप्टन राजनीति गर्ने भएकाले उनका कोही शत्रु छन् कि भनेर छरछिमेकमा सोधपुछ गर्दा प्रहरीले नयाँ रहस्य पत्ता लगायो ।

छिमेकीले उमादेवीको अर्कै पुषससँग सम्बन्ध रहेको बताए । 

प्रहरीले छिमेकीले भनेकै आधारमा उमादेवीलाई निगरानीमा राख्दै टेक्निकल अनुसन्धान अघि बढायो ।

परपुरुषसँगको सम्बन्धका कारण लप्टनले मादक पदार्थ सेवन गरेर उमादेवीलाई कुटपिट गर्ने गरेको पनि छिमेकीले बताए ।

प्रहरीले उमादेवीको फोन सम्पर्क भएका व्यक्तिहरूका सम्बन्धमा अनुसन्धान शुरू गर्‍यो । फोन कल डिटेल र व्यवहार हेर्दा उमादेवीले नै हत्या गरेको निष्कर्षमा प्रहरी पुग्यो ।

त्यसपछि प्रहरीले उमादेवीलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।

सोधपुछका क्रममा उनले आफ्ना प्रेमी राप्ती– ३ मसुरियाका हनुमान चौधरीसँग मिलेर पतिको हत्या गरेको स्वीकार गरिन् ।

आफूहरूको सम्बन्ध थाहा पाएपछि कुटपिट गरेको र समाजमा बताइदिने धम्की दिएकाले हत्या गरेको बयान उनले दिइन् ।

उनका अनुसार माघ २९ गते बेलुका लप्टनले मादक पदार्थ सेवन गरेर उमादेवीलाई कुटपिट गरेका थिए । 

उमादेवीले त्यसबारे हनुमानलाई जानकारी गराइन् ।

उनीहरू लप्टनको हत्या गर्ने निष्कर्षमा पुगे । हनुमानले उमादेवीलाई घरको दक्षिणतर्फको ढोका खुलै राख्न भने ।

उमादेवी ढोका खुलै राखेर १२ वर्षीया छोरी च्यापेर अर्को कोठामा सुतिन् ।

छोरी निदाएपछि राति १२ बजे हनुमान र उमादेवीले लप्टनको छातीमा मुड्कीले हानेर बेहोश बनाए । त्यसपछि घाँटी च्यापेर हत्या गरे ।

‘हत्या गरेर शव नजिकै रहेको राप्ती नदीमा फालेको देखिन्छ । प्रहरीलाई गुमराहमा पार्नका लागि उनीहरूले शवलाई जुत्ता समेत लगाइदिएका रहेछन्,’ दाङ प्रहरीका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले भने ।

उमादेवीले ६ दिनपछि मात्र श्रीमान् हराएको खबर गरेकी थिइन् । 

प्रहरीले अहिले ५० वर्षीया उमादेवी चौधरी र उनका प्रेमी ५२ वर्षीय हनुमान चौधरीलाई जिल्ला अदालत दाङबाट म्याद लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।लोकान्तर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्