नेपालमा अमेरिका र चीनबीच कडा टकराव, को जित्ला ?

नेपाल मामलामा शक्तिराष्ट्रहरु यसरी सायदै खुलेका थिए । अहिले अमेरिका र चीन नेपालमा प्रभाव जमाउन खुलेरै प्रस्तुत भएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले २७ माघमा नेपालका प्रमुख दलका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी एमसीसी पारित गर्न दबाब दिएको खुलिसकेको छ । माओावादी अध्यक्ष प्रचण्डले त धम्की नै दिएको आशयका साथ अभिव्यक्ति दिएका छन् । अमेरिकाले एमसीसीलाई प्रतिष्ठाको विषय बनाएर पारित नगरे सम्बन्धमा पुर्नविचार गर्ने देखि विभिन्न सहयोग रोक्ने चेतावनी दिइसकेको छ । उसले नेपालमा चिनियाँ हस्तक्षेप बुझ्ने समेत बताएको खुलिसकेको छ ।

अमेरिकाको पछिल्लो कदमप्रति चीनले खुलेरै आपत्ती जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरुले नेपाल मामलामा अमेरिकाले धम्की दिन खोजेको भन्दै चेतावनी दिएको छ । ११ फागुनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले चीनले चेतावनीका रुपमा एमसीसीलाई लाद्न खोजेको आरोप लगाइन् । उनले भनिन्, ‘मलाई आश्चर्य लागेको छ जब उपहार आउँछ त्यो एउटा चेतावनीको प्याकेटका रुपमा कसरी आउन सक्छ ?’ उनले एमसीसीतर्फ संकेत गर्दै नेपाली जनताले कसरी स्वकार्न सक्छन् भनी प्रश्न गरिन् । यसलाई चपाउन नसकिने मासुको संज्ञा दिइन् ।

यसअघि ६ फागुनमा चिनियाँ विदेश मन्त्रालयका अर्का प्रवक्ता वाङ वेनबिनले एमसीसीतर्फ संकेत गर्दै राजनीतिक स्वार्थ जोडिएको सहयोग भन्दै प्रश्न गरेका थिए । उनले भनेका थिए, ‘नेपालको सम्प्रभूता र हितमा असर पुर्याउने गरी धम्कीपूर्ण कूटनीतिका माध्यमबाट आफ्नो स्वार्थ बढाउने विषयको हामी विरोध गर्छौं ।’

नेपालको विषयमा अमेरिका र चीन बोलेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर यी विषयहरु नेपालको आन्तरिक मामला भन्दै ‘नेपालले विकास सहयोग राष्ट्रको आवश्यकता र प्राथमिकताका आधारमा लिने’ भनेको छ । नेपालको सार्वभौम संसदले विकास सहयोगबारे नेपाल र नेपाली जनताको चाहना बमोजिम निर्णय लिने भनेको छ ।

परराष्ट्र मन्त्रालयको कूटनीतिक विज्ञप्तिका बाबजुद अमेरिका र चीन नेपाल मामलामा खुल्ला टकरावमा उत्रिइसकेका छन् । अमेरिका कुनै हालतमा एमसीसी पारित गराउन लागिपरेको छ । चीन कुनै हालतमा रोक्न लागिसकेको छ । यस मामलामा नेपालका नेताहरु पनि कित्ता काट गर्दै बढेका छन् । एमसीसीको विरोध र समर्थनबाट को अमेरिका पक्षमा र को चीनको पक्षमा छ भन्ने खुल्न थालिसकेको छ । नेपाली जनताले आफ्ना नेताहरुको पक्ष या विपक्ष यसरी पहिलोपटक देख्न पाएका छन् ।

नेपाल मामलामा अमेरिका र चीनको टकरावबीच अन्य शक्तिले पनि भूमिका देखाइरहेका छन् । भारत, यूरोपेली युनीयन र रुसको समेत नेपाल मामलामा प्रभाव देखिन्छ । ती देशहरुमध्ये यूरोपेली युनीयन स्पष्ट रुपमा अमेरिकी पक्षमा देखिन्छ । भारतले भूमिका बढाउन खोजिरहेको छ ।

यसका लागि अमेरिकासँग उसले कुनै न कुनै कूटनीतिक लेनदेन चाहिरहेको छ । विशेषगरी, अमेरिका नेपाल मामलामा सिधै नआई आफ्नो तर्फबाट आओस् भन्ने भारतको चाहना देखिन्छ । श्रीलंकामा भारतको माध्यमबाट नभई सिधै जान खोज्दा एमसीसी अस्वीकृत भएको थियो ।

रुसले नेपाल मामलामा अमेरिकालाई चुनौती दिने सम्भावना देखिएको छ । तर, भारतलाई चिढ्याएर अगाडि बढ्न नचाहने भएकाले रुसको भूमिका तटस्थ पनि हुनसक्छ । अब नेपाल मामलामा चीन र अमेरिकाको टकरावमा भारत निर्णायक शक्ति देखिन थालेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्