बागमतीमा उपत्यका बाहेक सबैभन्दा बढि दुर्घटना हुने जिल्ला चितवन,धादिङ तेस्रोमा

बागमती प्रदेशअन्तर्गत उपत्यका बाहेकको १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्ला चितवन रहेको छ । चितवनमा सबैभन्दा बढी दुर्घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले बताउनुभयोे।

चितवनपछि दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो स्थानमा रहेको प्रदेश ट्राफिक कार्यालय रामनगरले जनाएको छ। धादिङ तेस्रो स्थानमा रहेको प्रदेश छ ।मकवानपुरमा १६५ दुर्घटना भएको छ भने धादिङमा १५९ दुर्घटना भएको छ ।

प्रदेशका १० जिल्लामा गत सात महिनामा ९८० दुर्घटना भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।प्रदेशमा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै सडकको अवस्थाका कारण भएको कार्यालयले जनाएको छ ।

बागमती प्रदेशमा रहेका सडक जीर्ण बन्दै जाँदा सडकका कारण बढी दुर्घटना भएका हुन् । सडकका कारण ४८९ वटा दुर्घटना भएको राठोरले बताउनुभयो। उहाँका अनुसार सडकको अवस्था, तीव्रगति, ओभरटेकलगायत कारण दुर्घटना बढी हुने गरेको छ । तीव्रगतिका कारण २३८ वटा दुर्घटना भएको उनले बताउनुभयो ।

चालकको लापरवाहीका कारण ६५ वटा दुर्घटना भएका छन् । यात्रुको गल्तीका कारण ५१, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ४१, यान्त्रिक खराबीका कारण २९ दुर्घटना भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयका अनुसार प्रदेशमा भएका दुर्घटनामा एक हजार ४१५ सवारी परेका छन् ।

जसमा सबैभन्दा धेरै मोटरसाइकल छन् । प्रदेशभित्र भएका दुर्घटनामा ७२५ मोटरसाइकल परेको उहाँले बताउनुभयो।यस्तै कार, जीप २४१, ट्रक ट्याङ्कर १६१, बस १०५, टिपर ५३, ट्र्याक्टर ४५, टेम्पो ४०, शारीरिक शक्तिबाट चल्ने ३५ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । यी दुर्घटनामा परी ३७४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८ जना घाइते भएका छन् । घाइतेमध्ये ५३० गम्भीर र एक हजार ५६२ जना सामान्य घाइते भएका हुन् ।-फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्