काठमाडौं । नेपालले युक्रेनमाथि रुसले गरेको शक्ति प्रयोगको विरोध जनाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दौ रुसी कदमको विरोध गरेको हो ।
‘नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयम अपनाउन नेपाल आग्रह गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।
संयुक्त राष्ट्र संघको सदस्यको हैसियतले नेपालले राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पालना गर्न नेपालले रुसलाई आग्रह गरेको छ ।
परराष्ट्रले राष्ट्रसंघको सबै सदस्य राष्ट्रहरूले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पूर्ण रूपमा सम्मान गर्नुपर्ने बताएको छ ।
‘युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानको विपरीत हो । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधान खोज्नेमा विश्वास गर्दछ,’ परराष्ट्रले स्पष्ट शब्दमा भनेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज युक्रेनमा आक्रमण गर्न सेनालाई निर्देशन दिएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।
![Avatar](https://fileswarehouse.com/newskarkhana/news-photos/MOFA.PNG.png?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20220224%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20220224T073622Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=604800&X-Amz-Signature=c498d6cdef994660a375a2f832d5dce2a36f5f5674b8af0bd2e7afc014c2c764)