काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा पछिल्लो विकसित घटाक्रमको कारण त्यहाँ रहेका नेपालीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गरेको छ ।
एनआरएनएले बिहीबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा चिन्ता व्यक्त गरेको हो ।
‘युक्रेनमा रहनु भएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् । उहाँहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उहाँहरु सबै सकुशल रहनुभएको खबर प्राप्त भएको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
रुसले बिहीबार विहानबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेको छ । यसपछि एनआरएनएले विज्ञप्ति निकालेर युक्रेनमा रहेका नेपालीलाई स्वदेश र्फकन आग्रह गरेको छ ।
‘युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ । त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्था बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनुहुन अनुरोध गर्दछौं,’ एनआरएनएले भनेको छ ।