एक महिनामा सात किलो सुन बरामद

काठमाडौं, फागुन १३ ।

अवैध रूपमा नेपाल ल्याउँदै गरेको करिब पाँच किलो सुनसहित गत माघ २९ गते एक चिनिया नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गर्‍यो।अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय झाङ लि ४ हजार ८४० ग्राम सुनसहित पक्राउ परेका थिए। हिमालय एयरको उडानबाट काठमाडौं आएका उनले चारवटा पोकामा भित्री कपडामा लुकाई उक्त सुन ल्याएको प्रहरीको भनाइ छ।

यस्तै माघ १९ गते अवैध सुन र मोबाइलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो। हिमालय एयरको विमानमा दुबईबाट काठमाडौं आएका रौतहट गौरका ३२ वर्षीय सुनीलकुमार साह, मकवानपुरको मनहरीका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसीका ३९ वर्षीय दावा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट अवैध एक किलो १२५ ग्राम सुन र आइफोन १३ प्रो म्याक्स ५ थान फेला बरामद गरियो।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक महिनाको अवधिमा साढे ७ किलो अवैध सुन बरामद गरेको छ। गत माघ १९ गतेदेखि फागुन ९ गतेसम्म दुई विदेशीसहित ११ जनाको साथबाट ७ किलो २३० ग्राम अवैध सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार विभिन्न देशबाट अवैध सुन ल्याएको अवस्थामा ९ जना नेपाली तथा एक/एक जना बंगलादेशी र चिनिया नागरिकलाई पक्राउ गरिएको छ।

अवैध रूपमा नेपाल ल्याइएको सुनको अहिलेको बजार मूल्य करिब ५ करोड ९० लाख रूपैयाँ बराबरको रहेको एसएसपी ढकालले बताए। त्यस्तै, २५ हजार १५१ अमेरिकी डलर, ४७ हजार ७६० साउदी रियाल, २ हजार ६७५ युएई दिराम, २ हजार २२० भारु, ५० जर्जिया लारी, ५ वेलायती पाउन्ड र ४१।५ ओमानी रियल बरामद गरिएको एसएसपी ढकालले बताए। प्रहरीले आइफोन ५ थान, अन्य विभिन्न कम्पनीका मोबाइल ९ थान, ल्यापटप ३ थानका साथै ३३ सय ६४ किलो सुर्तीजन्य पदार्थ नष्ट गरिएको र ५ सय २९ किलो बरामद गरेर नष्ट गर्न बाँकी रहेको बताइएको छ।
नागरिक दैनिकबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्