एससीसीबाट आउनेमध्ये ३० अर्ब एनजीओ र आईएनजीओलाई बाँडिनेछ -झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब रुपैयाँ एनजीओ र आईएनजीओेलाई वितरण गर्ने उल्लेख रहेको दाबी गरेका छन् । 

कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौताबाट करिब ७० अर्ब रुपैयाँ आउने र यसमध्ये ३० अर्ब नेपालमा रहेका गैरसरकारी र अन्तर्राष्ट्रिय सरकारी संस्थालाई बाँड्ने उल्लेख रहेको दाबी गरेका हुन् । 

अमेरिकाको इच्छाअनुसार नेपालमा रहेका एनजीओ र आईएनजीओलाई ३० अर्ब बाँडिने सम्झौतामा उल्लेख रहेको भन्दै उनले भने, ‘सम्झौताबाट करिब ७० अर्ब आउने भनिएको छ । त्यसमध्ये ४० अर्ब ट्रान्समिसन लाइन र सडक निर्माणमा खर्च गरिने र बाँकी ३० अर्ब यहाँका एनजीओ र आईएनजीओलाई दिने भनिएको छ । एमसीसीको इच्छामा दिने भनिएको छ ।’ 

एमसीसी सम्झौतामा सर्तैसर्त रहेको र यो राष्ट्रहितविपरीत रहेको उनको दाबी छ । 

नेता खनालले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकतावद्ध हुनुपर्ने बताएका छन् । उनले भने, ‘एमसीसी मुद्दाले हाम्रो देशको गठबन्धन सरकारभित्र विभाजन आयो। संसदमा विभाजन आयो। राजनीतिक पार्टीहरुका बीचमा विभाजन आयो र आम जनताका बीचमा समेत विभाजन आयो। यो ग्म्भीर सवाल हो। यो गम्भीर सवालमा कम से कम पनि नेपाल एकतावद्ध हुनुपर्छ। राष्ट्रिय सहमति हुनुपर्छ।’ 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्