चालु आर्थिक वर्षको ६ महिनामा ८ हजारभन्दा बढी भ्रष्टाचारका मुद्दा दर्ता भएको छ।आयोगको केन्द्रीय कार्यालय टङ्गाल र मातहतका कार्यालयहरूमा चालु आर्थिक वर्ष २०७८/०७९ को पुष मसान्तसम्म ८ हजार ७० उजुरीहरू दर्ता भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरीहरू समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको सङ्ख्या १६ हजार १ सय ६३ रहेका छन् ।
आयोगले गत ६ महिनामा कुल १६ हजार १ सय ६३ उजुरीमध्ये ७ हजार ५ सय २० उजुरी फर्छ्यौट गरेको छ । यो कुल उजुरीको ४६ दशमलव ५३ प्रतिशत हो । यस्तै आयोगमा प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका उजुरीहरू मध्ये २ सय २५ ओटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ ।
यस्तै २ हजार ९८ उजुरी तामेली गरिएको छ भने १ सय ५६ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ५ हजार ४१ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाही गरिएको आयोगका सह प्रवक्ता बेद प्रसाद भण्डारीले जानकारी दिनुभयो ।उजुरीहरूमा सबैभन्दा बढी सङ्घीय मामिलासँग सम्बन्धित रहेको छ । जसमा स्थानीय तह समेत गरि ३३ दशमलव ४६ प्रतिशत उजुरी दर्ता भएका छन् ।
शिक्षा क्षेत्र अन्तर्गत सम्बन्धित १५ दशमलव ७० प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ८ दशमलव ७ प्रतिशत, वन तथा वातावरण क्षेत्रअन्तर्गत ४ दशमलव ६४ प्रतिशत, स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित ३ दशमलव ६४ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित ३ दशमलव ५७ प्रतिशत, गृह प्रशासनसँग सम्बन्धित २ दशमलव ९३ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रअन्तर्गत २ दशमलव ९२ प्रतिशत र सबै भन्दा कम उजुरी अर्थमन्त्रालयसँग सम्बन्धित १ दशमलव ६४ प्रतिशत उजुरी रहेको आयोगले जनाएको छ ।
त्यस्तै, नक्कली शैक्षिक प्रमाण–पत्रतर्फ ७ दशमलव ७७ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जनतर्फ ४ दशमलव ३२ प्रतिशत र अन्य निकाय/क्षेत्र अन्तर्गत ११ दशमलव ६० प्रतिशत उजुरीहरू रहेका छन् । यस्तै चालु आर्थिक वर्षमा आजको दिनसम्म रङ्गेहात कारबाहीको सङ्ख्या १७ ओटा रहेको आयोगले बताएको छ।