१५ वर्षमुनिकालाई चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइने

आउँदो चैतको २५ गतेदेखि सरकारले १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो चैतको २५ गतेदेखि वैशाखको १८ गतेसम्म एकै चरणमा देशैभरि अभियानकै रूपमा टाइफाइडविरुद्धको खोप दिने भएको हो ।

नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि अभियानकै रूपमा भने पहिलो पटक सुरु गर्न लागेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो।खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक तयारीका काम भइरहेको अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार विश्वका धेरै देशमा १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाइसकेको भए पनि नेपालमा भने पहिलो पटक लगाउन लागिएकाले तयारी तीव्र पारिएको हो । आउने चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म यो खोप अभियान सञ्चालन गरिसकेपछि बालबालिकालाई लगाइँदै आइएको नियमित खोप कार्यक्रममा नै यसलाई समेट्ने उहाँले बताउनुभयो ।

नेपालमा ट्रायल गरिएकाले भर्खरै विकसित भएको खोप भनेर नबुझ्न र आफ्ना १५ वर्षमुनिका बालबालिकालाई ढुक्क भएर खोप लगाउन डा.अधिकारीले आग्रह गर्नुभयो । खोप अभियान सञ्चालनका लागि अहिले विभिन्न पालिकाहरूले विद्यार्थीको विवरण माग गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्