प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता शनिबारबाट हुदैं

धादिङ,२७ फागुन ।

बागमती प्रदेश सरकारको आयोजनामा शनिबारबाट प्रथम प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । प्रदेश खेलकुद विकास परिषदको आयोजनामा हेटौंडा ४ स्थित क्याम्पडाडा रंगशालामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार अपरान्ह ४ बजे प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रमम रहेको छ।

प्रतियोगितामा फुटबल, तेक्वान्दो, ब्याडमिण्टन, क्रिकेट, कँराते, एथ्लेटिक्स, भलिबल र बक्सिङको प्रतियोगिता हुने परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले बताउनुभयो ।उहाँका अनुसार मकवानपुरमा यहि फागुन २९ गतेबाट पुरुष फुटबल, ब्याडमिन्टन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ ।त्यस्तै, चितवनमा ३० गतेदेखी भलिबल र क्रिकेट खेल सुरु हुने बताउनुभयो ।

सिन्धुपाल्चोकमा भने चैत्र ७ गतेबाट कराते खेल हुनेछ भने काठमाडौंमा आगामी चैत्र ६ गतेदेखी एथलेटिक्स प्रतियोगिता हुने जनाइएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखी महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताउनुभयो ।

प्रतियोगितामा जिल्ला स्तरीय प्रतिस्पर्धाबाट छनौटमा परेका दुई हजार एक सय ८८ जना खेलाडी सहभागी हुने परिषदले जनाएको छ । तीमध्ये एक हजार दुई सय ४९ जना पुरुष र नौं सय ३९ जना महिला रहेका छन् । प्रतियोगिता चार सय ५७ जना अफिसियल र निर्णायकले सञ्चालन गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न आठ करोड चार लाख रुपैयाँ खर्च हुने परिषदका अध्यक्ष तथा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले बताउनुभयो ।उहाँका अनुसार प्रतियोगितामा सहभागी खेलाडीले दैनिक भत्ता दुई हजार रुपैयाँ पाउनेछन्। सबै विधाका खेलमा प्रथम हुनेले पाँच हजार, द्वितीय हुनेले चार हजार र तेस्रो हुनेले जनही तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मन्त्री ढकालले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको प्रदेश सरकारले बिमा गरिदिने भएको छ ।

घाइतेको उपचारमा अधिकतम १५ लाख र मृत्यु भएमा ३० लाख रुपैयाँ बीमाबाट पाउने मन्त्री ढकालले बताउनुभयो ।प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र त्यसको लागि छ वटा उप समिति र आठ वटा प्राविधिक समिति बनाएर काम गरिरहेको परिषदले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुने टिमहरुले निशुल्क दर्ता हुने पाउनेछ । काभ्रेपलाञ्चोकको धुलिखेलमा चैत १२ गते प्रतियोगिताको समापन हुनेछ । प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय खेलकुद प्रतियोगिता हुन लागेकाले प्रदेश सरकारले यसलाई महत्वका तयारी अघि बढाएको मन्त्री ढकालले बताउनुभयो ।

भोली हुने उद्घाटन कार्यक्रम हेटौंडाको क्याम्पाचौरमा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न झाँकी तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिदैं खेलप्रेमी, खेलाडी प्रशिक्षक लगायत अन्य गरि करिब हजारौंको उपस्थिती रहने परिषदले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्