तराईमा बज्ने चर्चित नेपाली होली गीतहरू

काठमाडौं, ४ चैत

सामाजिक सदभाव र माधुर्यता झल्काउने फागु पर्व फागुन शुल्क पूर्णिमाका दिन मनाइन्छ । फागु अर्थात् होली पर्व यसपटक उपत्यकामा बिहीबार मनाइयो । तराईमा शुक्रबार मनाइँदैछ । होलीमा रंगलाई एकआपसमा सद्भावको प्रतीकका रूपमा लगाइने गरिन्छ । वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ गर्ने यो पर्वमा होली गीतहरूमा रंगप्रेमी झुम्ने गरेका छन् । रंगप्रेमीहरूले प्रत्येक वर्ष सम्झिने होलीमा आधारित नेपाली फिल्ममा समावेश केही गीत बिहीबार पहाडी भेगमा घन्किए । यी गीतहरू आज तराईमा घन्किने छन् । 

सीता : जनकपुरमे होली हे 

होलीलाई विशेष रूपमा मनाइने मिथिला अर्थात् जनकपुरमा शनिबार होली मनाइँदैछ । जनकपुरको आसपासमा छायांकन गरिएको फिल्म हो सीता । नेपाली फिल्ममा समावेश सदाबहार होलीका गीतहरूमा पर्छ– ‘जनकपुरमे होली हे’ । यो गीतमा शम्भुजित बासकोटाले संगीत दिएका छन् । गीतमा अभिनेता श्रीकृष्ण श्रेष्ठ र सारंगा श्रेष्ठ फिचर्ड छन् । अशोक शर्माको निर्देशनमा तयार भएको फिल्म अधिकांश जनकपुरमै छायांकन गरिएको थियो । 

अधिकार : होलीले रंगायो मेरो नयाँ चोली 

होलीमा घन्किने गीतमा पर्छ, ‘होलीले रंगायो मेरो नयाँ चोली’ । अधिकार फिल्मको यो गीतमा होलीकै प्रसंग छ । प्रकाश थापा निर्देशित फिल्मको यो गीतमा पनि संगीत शम्भुजित बासकोटाले दिएका छन् । गीतमा शब्द किरण खरेलले कोरेका हुन् भने यसमा उदितनारायण झा, दीपानारायण झा, प्रकाश श्रेष्ठ, पूर्णिमा श्रेष्ठको स्वर छ । गीतमा राजेश हमाल, कृष्टि मैनाली, मिथिला शर्मालगायतको अभिनय छ । 

वसन्ती : फागु हो फागु हो

होली आएपछि जताततै सुनिने नेपाली गीतमा पर्छ– ‘फागु हो फागु’ । निर्देशक नीर शाह निर्देशित फिल्म ‘वसन्ती’मा समावेश यो गीत गुञ्जमान भएसँगै होली आएको आभास हुन्छ । गीतको शब्द पनि नीर शाह आफैंले लेखेका हुन् । संगीत शम्भुजित बासकोटाकै छ । गीतमा निरुता सिंह, करिश्मा मानन्धरलगायतका कलाकारले अभिनय गरेका छन् ।

संरक्षण : होरीमे गोरी

पूर्णेन्दु झा निर्देशित फिल्म संरक्षणमा समावेश ‘होरीमे गोरी’ बोलको गीत तराई क्षेत्रमा निकै बज्ने गरेको छ । यो गीतले होली तराईमै मनाइरहेको दृश्यलाई समेटेको छ । नेपाली फिल्म भए पनि तराईमा होली सन्दर्भलाई कैद गरेकै कारण यो गीत भोजपुरी भाषामा छ । गीतमा नेहा प्रियादर्शन र प्रवेश मल्लिकको आवाज, धिरेन्द्र प्रेमर्षीको शब्द र संगीत प्रवेश मल्लिकको छ । सौगात मल्ल, मलिना जोशी र अशिष्मा नकर्मी गीतमा फिचर्ड छन् । 

फागु : आउ न आउ खेलौँ होली

अभिनेत्री करिश्मा मानन्धरको निर्माण तथा सम्झना उप्रेती रौनियारको निर्देशन रहेको फिल्ममा ‘आउ न आउ खेलौं होली’ गीत समावेश छ । गीतमा दयाराम पाण्डेको शब्द र बसन्त सापकोटाले संगीत दिएका छन् । गीतमा मिना निरौला, मनोज महतो, रञ्जितकुमार सहानीको स्वर छ । फिल्मका प्रमुख कलाकारमा शिल्पा पोखरेल र सुवास पराजुली छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्