मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते

सर्लाही, ५ चैत

सर्लाहीको कविलासीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

कविलासी नगरपालिका–६, जमुनियास्थित भित्री सडक खण्डमा शुक्रवार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा भारतीय नम्बर प्लेट बिआर ३० क्यू ५२९२ नम्बरको मोटरसाइकल चालक कविलासी नगरपालिका–२, निवासी २८ वर्षीय धर्मेन्द्र रामको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका रामलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पु¥याएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

यस्तैै, सोही मोटरसाइकलमा सवार कविलासी नगरपालिका–२, निवासी २३ वर्षीय राजु रामको खुट्टामा गहिरो चोट लागेको छ । दुर्घटनामा संलग्न बिआर ०६ सिएफ ५३५७ नम्बरको मोटरसाइकल चालक चक्रघट्ट गाउँपालिका–५, बस्ने ३० वर्षका राजकुमार यादव र पछाडि बसेका सोही स्थानका ३० वर्षका हरिओम यादवको टाउको, अनुहार र हातखुट्टामा गहिरो चोट लागेको छ । 

उनीहरू दुवैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । दुवै जनालाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारको लागि बीरगंज रिफर गरिएको छ । तीव्र गतिमा रहेको दुवै मोटरसाइकल आपसमा ठोकिएको प्रत्यक्षदर्शीको भनाइ छ । मृतक रामको सव परीक्षणको लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको हो । 

यसैबीच, शुक्रबार सर्लाहीको बागमतीमा तीव्र गतिको मोटरसाइकल म्याजिक भ्यानमा ठोकिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ।

पुर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको ना१ज २५०५ नम्बरको म्याजिक र विपरित दिशाबाट आउँदै गरेको बा७४प ७५३४ नम्बरको मोटरसाइकल ठोकिएको हो । दुर्घटनामा घाइते हुनेमा हरिवन नगरपालिका–१ केराबारीका २६ वर्षीय विमल राई र हरिवन नगरपालिकाकै वडा नम्बर ८ का विकास भनिने वीरबहादुर राई रहेका प्रहरीले जनाएको छ। 

घाइते दुवै जनाको हरिवनस्थित नमूना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि अन्यत्र रिफर गरिएको छ । दुर्घटनामा संलग्न दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्