प्रथम बागमती प्रदेश स्तरिय खेलकुद: काभ्रेलाई हराउदै धादिङ क्रिकेट टिम फाइनलमा

बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगीता अन्तरगत काभ्रेपलान्चोकलाई हराउँदै धादिङको क्रिकेट टोली फाइनलमा प्रवेश गरेको छ ।

चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय रंगशालामा आज भएको खेलमा धादिङले नेपाली क्रिकेट टोलीका ओपनर सुवास खकुरेल सम्मिलित काभ्रेपलान्चोक (काभ्रे) लाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै धादिङ फाइनल प्रवेश गरेको हो।टस हारेर ब्याटिङ थालेको धादिङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो ।

धादिङका लागि ओपनर तथा कप्तान अमृत थापाले ३० बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५४ रनको योगदान दिए । अर्का ओपनर कौशल रुपाखेती ९ रनमा आउट हुँदा तेस्रो नम्बरका ब्याटर आरम्भ तिमिल्सिनाले ३८ बलमा ५ चौका र १ छक्कासहित ४४ रन बनाए ।
दोस्रो विकेटका लागि अमृत र आरम्भले ८५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

युवा ब्याटर स्वपनील अघिकारीले १४ बलमा ३ चौका र ३ छक्कासहित ३५ रनको अविजित इनिङ खेले । उज्वल थापा २४, श्याम त्रिपाठ्ठी १ र सचिन श्रेष्ठले ८ रन बनाए । काभ्रेपलान्चोकका समिर हुमागाईं र विवेक न्यौपानेले २–२ विकेट लिए ।

१ सय ९५ रनको विशाल विजयी लक्ष्य पछ्याएको काभ्रेपलान्चोक १४.३ ओभरमा ३९ रनमा अल आउट भयो । सिनियर टोलीका ओपनर सुवास खकुरेल ४ रनमा आउट भए ।उनलाई श्याम त्रिपाठ्ठीले बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए ।

यू १९ टोलीका विवेक रानामगर पनि १ रनमा आउट भए । धादिङको उत्कृष्ट बलिङ सामू निरिह बनेको काभ्रेपलान्चोकका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

धादिङका श्याम त्रिपाठ्ठीले ४ ओभरमा २ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिए । उनीनै खेलको प्लेयर अफ द म्याच चुनिए । सन्देश सापकोटाले ३.३ ओभरमा १० रन खर्चेर ४ विकेट लिए ।

रुपेश भुजेलले २ र श्री कृष्ण उपाध्यायले १ विकेट लिए ।धादिङले उपाधिको लागि भोलि सोमबार मकवानपुरसँग खेल्नेछ ।आजै भएकोे पहिलो सेमिफाइनल खेलमा चितवनलाई हराउदै मकवानपुर फाईनल पुगेको छ।

धादिङले पहिलो खेलमा रसुवालाई ९ विकेट र दोस्रो खेलमा काठमाडौंलाई ४ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
पहिलो चरणमा बाइ पाएर दोस्रो चरणमा प्रवेश गरेको धादिङले पहिलो खेलमा रसुवालाई ९ विकेटले हराएको थियो भने दोस्रो खेलमा काठमाडौंलाई ४ विकेटले पराजित गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्