धादिङमा एकैदिन ५१७ जनाले दिए म्यादी प्रहरीमा आवेदन

धादिङमा आईतबार पहिलो दिन ५ सय १७ जनाले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिलो दिन आईतबार बिहान १० बजेदेखि ५ बजेसम्म ५१७ जनाले आवेदन बुझाएका हुन् ।४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ ।

सार्वजनिक बिदा बाहेक यही चैत ६ देखि ११ गतेसम्म भर्नाका लागि दरखास्त दिन सकिने जनाइएको छ । महानगरीय प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम बुझाउन सकिने छ ।

दरखास्तका लागि नेपाली नागरिक भएका, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेका, कसुरदार ठहर नभएका, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त, साधारण लेखपढ गर्न जान्ने तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची ३ मा उल्लेख भए बमोजिमको हुनुपर्ने उल्लेख छ ।

मुख्यगरी सुरक्षा निकायमा गत साउनदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपि पेस गर्ने, पूर्वसुरक्षाकर्मी तथा पूर्ववनरक्षक, विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक कार्य गरेकालाई प्राथमिकता दिइने भएको छ ।

चैत १५ गतेदेखि छनोट प्रक्रिया सुरु गरिने र अन्तिम नतिजा भने यही २२ गते सार्वजनिक हुने जनाईएको छ । चैत २८ गते प्रशिक्षण दिइने छ । म्यादी प्रहरीहरुलाई जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध गराइने नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ।

निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन जान तयारी स्वरुप प्रतिम्यादी प्रहरी (एक पटकका लागि) एक हजार रुपैयाँ दिइनेछ । बीमा लगायतका अन्य सुविधा नेपाल सरकारले तोकेअनुसार हुने महाशाखाले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्