म्यादी प्रहरीका लागि धादिङमा १ हजार १०६ जनाले दिए आवेदन

स्थानीय तहको निर्वाचनका लागि धादिङ सहित देशव्यापी रूपमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ ।

आइतबारबाट सुरु भएको दर्ता प्रक्रियामा धादिङमा हालसम्म १ हजार १०६ जनाले आवेदन दिएका छन्।

पहिलो दिन आईतबार ५ सय १७ जनाले र सोमबार ५ सय ८९ जनाले दर्ता गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। भर्ना प्रक्रिया चैत ११ गतेसम्म अगाडि बढाउन आह्वान गरिएको छ ।

स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न, उच्च सुरक्षा संवेदनशीलता, मतदान केन्द्रको संख्याको आधारमा निर्वाचनको सुरक्षाकालाई ४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ ।

सार्वजनिक बिदा बाहेक यही चैत ६ देखि ११ गतेसम्म भर्नाका लागि दरखास्त दिन सकिने जनाइएको छ । महानगरीय प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम बुझाउन सकिने छ ।

म्यादी प्रहरीले पारिश्रमिक मध्ये ४० दिनको लागि ३० हजार २४० पारिश्रमिक, राशनबापत सात हजार २ सय, पोसाक र अन्य खर्च ६ हजार, यातायात खर्चबापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ।

छनोट प्रक्रिया १५ चैतदेखि, नतिजा प्रकाशन चैत २२ गते गरिने भएको छ । छनोटमा परेका आवेदकलाई चैत २८ बाट प्रशिक्षण दिएर प्रहरीको सहयोगीका रूपमा मतदान स्थल र केन्द्र तथा आवश्यकताअनुसार गस्तीमा खटाइने महाशाखाले जनाएको छ।-फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्