काठमाण्डौ,०८ चैत।
भारतबाट सुरु भएको समुद्री आँधीको प्रभावले नेपालको पूर्वी भागमा हावाहुरी र असिनासहित पानी पर्न सक्ने मौसमविद्ले बताएका छन्।
६० देखि ७० किलोमिटर प्रतिघण्टाकोे वेगमा चलिरहेको हावाले बङ्गालको खाडी र म्यानमारमा पानी पारिरहेको र हावाको बेग दुई, तीन दिन अझै बढ्ने देखिएका मौसमविद् डा. धर्मराज उप्रेतीले बताउनुभयो । नेपालमा प्रि–मनसुन सुरु भएपछि असर पार्न सक्ने यो पहिलो समुद्री आँधी हो ।
आँधीको असर कति दिनसम्म जान्छ भन्नेबारेमा भोलि बुधवारसम्म निर्धारण हुने तर अहिलेसम्मको गति अध्ययन गर्दा दुई, तीन दिनसम्म प्रभाव पार्न सक्ने अनुमान गरिएको उप्रेतीले बताउनुभयो । सामान्य हावाहुरी र असिना पानी परे पनि अरू ठूलो असर नदेखिएको उहाँको भनाइ छ ।
सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भए पनि जलवायु परिवर्तनको असर हुन सक्ने पनि मौसमविद् उप्रेतीले बताउनुभयो । अहिले देशका केही ठाउँको मौसम बद्ली भएको छ ।
स्थानीय वायुको प्रभावका कारण मौसम बद्ली भएको र सामान्य हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार धादिङसहित काभ्रे, गोरखा, पोखरा आसपासको क्षेत्रमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ ।
प्रि–मनसुनको समयमा दिउँसोपख घाम लागे पनि बेलुकातिर हावाहुरी र चट्याङसहित पानी पर्ने गर्छ ।